के तपाईंलाई थाहा छ, प्रयोगकर्ता नम्र भएर बोल्दा च्याटजीपीटीलाई लाग्छ करोडौंको खर्च
IT

के तपाईंलाई थाहा छ, प्रयोगकर्ता नम्र भएर बोल्दा च्याटजीपीटीलाई लाग्छ करोडौंको खर्च

Apr 23, 2025


काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल प्रयोग गर्दा सामान्य शिष्टाचारका शब्दहरूले पनि कम्पनीमाथि ठुलो आर्थिक भार पार्न सक्ने देखिएको छ । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानले प्रयोगकर्ताको जिज्ञासामा यस्तो तथ्य प्रस्तुत गरेका हुन् ।

गत साता एक प्रयोगकर्ताले मानिसहरू च्याटजीपीटीसँग नम्र भएर ‘प्लिज’ र ‘थ्याङ्क्यु’ भन्दा कति बिजुलीको खर्च थपिन्छ भनेर जिज्ञासा राखेका थिए । ती प्रयोगकर्ताले सोधेका थिए, “मानिसहरूले मोडेललाई ‘प्लिज’ (कृपया) र ‘थ्याङ्क यु’ (धन्यवाद) भन्दा ओपनएआईले बिजुली खर्चमा कति पैसा गुमाएको होला ?”

अल्टम्यानले अर्को दिन त्यसको जवाफ दिँदै च्याटजीपीटीप्रति शिष्ट हुँदा ओपनएआईको बिजुली बिल ‘करोडौं डलर’ ले बढ्ने उल्लेख गरे ।


गत फेब्रुअरीमा प्रकाशित एक सर्वेक्षणअनुसार अमेरिकामा एआई प्रयोग गर्ने ६७ प्रतिशत प्रयोगकर्ता च्याटबटप्रति शिष्ट हुन्छन् । यस समूहका लगभग १८ प्रतिशतले एआईबाट सटीक र उत्कृष्ट जवाफ पाउन र त्यसले गर्नसक्ने ‘ह्याल्युसिनेसन’बाट जोगिन ‘कृपया’ र ‘धन्यवाद’ भन्छन् । बाँकी ८२ प्रतिशतले भने एआई वा मानिस जोसुकैप्रति शिष्ट हुनु ‘राम्रो’ हुनुपर्ने धारणा राखेका थिए ।

एआईप्रति शिष्ट हुँदा त्यसले दिने जवाफको स्तरलाई पनि फरक पर्ने धेरैको अनुभव छ । माइक्रोसफ्टका डिजाइन निर्देशक कर्टिस बिभर्सले एक ब्लगमा भनेका छन्, “शिष्ट भाषाको प्रयोगले एआईको प्रतिक्रियाको लागि एउटा शैली सेट गर्छ ।” अर्थात् जब तपाईं एआईप्रति शिष्ट हुनुहुन्छ, यसले त्यसैगरी प्रतिक्रिया दिने सम्भावना बढी हुन्छ ।

यद्यपि यस शिष्टाचारको ऊर्जा लागत लाग्छ । इलेक्ट्रिक पावर रिसर्च इन्स्टिच्युटको मे २०२४ को रिपोर्टअनुसार च्याटजीपीटीलाई प्रश्न सोध्न वा टिप्पणी पठाउन सामान्य गुगल सर्च भन्दा १० गुणा बढी ऊर्जा लाग्छ । तर, यसमा एआईले दिने सारांश समावेश छैन । 

वित्तीय सल्लाह दिने कम्पनी बेस्टब्रोकर्सका अनुसन्धानकर्ताले च्याटजीपीटीलाई वार्षिक औसतमा १.०५९ अर्ब किलोवाट-घण्टा बिजुली आवश्यक पर्ने पत्ता लगाएका छन् । यसले च्याटबटका लागि ऊर्जा खर्चमा मात्रै वार्षिक लगभग १३ करोड ९७ लाख डलर खर्च हुन सक्ने देखाउँछ ।

एआईलाई चलाउने सर्भरहरूलाई चिसो पार्न ठूलो मात्रामा पानी पनि चाहिन्छ । युनिभर्सिटी अफ क्यालिफोर्निया रिभरसाइडको अनुसन्धानका अनुसार १०० शब्दको इमेल तयार पार्न च्याटजीपीटीलाई १४०८ मिलिलिटरसम्म पानी (लगभग तीनवटा १६.९ ओजेड बोटल बराबर) आवश्यक पर्छ । च्याटजीपीटीबाट ‘यू आर वेलकम’ जस्ता तीन-शब्दको प्रतिक्रिया उत्पन्न गर्न पनि ४० देखि ५० मिलिलिटर पानी लाग्ने बताइएको छ ।

ओपनएआईले एआईको करोडौं डलरको बिजुली खर्च धान्न सक्छ । यो महिनाको सुरुवातमा यस कम्पनीले हालसम्मकै सबैभन्दा ठूलो निजी प्रविधि सम्झौतामा ३०० अर्ब डलरको मूल्यांकनमा ४० अर्ब डलर जुटाएको थियो ।


पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १७:१५




Leave a Reply

Your email address will not be published. Required fields are marked *