बन्द हुने भयो टिकटक म्युजिक
IT

बन्द हुने भयो टिकटक म्युजिक

Sep 25, 2024

काठमाडौं । बाइटडान्सले आफ्नो म्युजिक स्ट्रिमिङ सेवा टिकटक म्युजिक बन्द गर्ने घोषणा गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले सब्सक्रिप्सनमा आधारित यो सेवा बन्द गर्न लागेको जनाएको हो ।

सूचना अनुसार आगामी २८ नोभेम्बरदेखि टिकटक म्युजिक पूर्ण रूपमा बन्द हुनेछ । ​डेढ वर्ष पहिले आएको यो सेवा इन्डोनेसिया, ब्राजिल, अस्ट्रेलिया, सिंगापुर र मेक्सिकोमा मात्र उपलब्ध छ ।

सन् २०१९ मा भारत र इन्डोनेसियामा ‘रेसो’ नामक एप चलाउन सुरु गरेपछि केही समयमै ब्राजिलमा पनि विस्तार भएको थियो । पछि, सन् २०२३ मा बाइटडान्सले रेसोलाई टिकटक म्युजिकमा रिब्रान्डिङ गरेर सिंगापुर, अस्ट्रेलिया र मेक्सिकोमा फैलाएको थियो । भारतमा भने यो सेवा आउनुअघि नै रेसोमा प्रतिबन्ध लागेको थियो ।

बाइटडान्सले सबैलाई आफ्नो प्लेलिस्ट अन्य म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा सार्न र रकम फिर्ताको लागि जानकारी गराउन आग्रह गरेको छ । 

टिकटक अहिले गीत/संगीत खोज्ने तथा प्रवर्द्धन गर्ने प्रमुख माध्यमको रूपमा उभिएको छ । यसअघि टिकटक म्युजिक आउँदा स्पोटिफाई, एप्पल म्युजिक जस्ता म्युजिक स्ट्रिमिङ प्लेटफर्मलाई धक्का पुग्ने अनुमान गरिएको थियो । तर अब टिकटकले अन्य स्ट्रिमिङ सर्भिस प्लेटफर्मसँग प्रतिस्पर्धा नगरी उनीहरूसँगै सहकार्य गर्ने कामलाई प्राथमिकता दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८१ १३:१९




Leave a Reply

Your email address will not be published. Required fields are marked *