अमेरिकी सडकमा ‘नो चाइना’ नियम, गाडी सफ्टवेयरमा समेत प्रतिबन्ध लगाउने तयारी
IT

अमेरिकी सडकमा ‘नो चाइना’ नियम, गाडी सफ्टवेयरमा समेत प्रतिबन्ध लगाउने तयारी

Sep 25, 2024

 

काठमाडौं । अमेरिकाले आफूसँग सम्बन्ध राम्रो नभएका मुलुकबाट आउने गाडीको सफ्टवेयरको बिक्री तथा आयातमा रोक लगाउने तयारी गरेको छ । ह्वाइट हाउसले हालै एक वक्तव्य जारी गर्दै यस्तो नियम प्रस्ताव गरेको जानकारी दिएको हो ।

अमेरिकी वाणिज्य विभागको रिपोर्टका आधारमा बाइडेन प्रशासनले यस्तो कदम चालेको द भर्जले जनाएको छ । यो प्रस्ताव पारित भए चीनबाट अमेरिकामा गाडी आउन रोकिन सक्ने विश्लेषण गरिएको छ ।

विभागले यसै वर्ष चीनबाट आउने गाडीका सफ्टवेयरहरूको अनुसन्धान गरेर रिपोर्ट तयार पारेको थियो । ​‍ह्वाइट हाउसको वक्तव्य अनुसार चीनबाट आउने गाडीको हार्डवेयर र सफ्टवेयर अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा बन्न सक्ने सम्भावना छ । चीनले गाडीलाई बाटोमै रोक्न सक्नेदेखि निगरानी, जासुसी गर्ने ह्वाइट हाउसको दाबी छ ।

प्रस्तावित नियममा गाडीलाई बाहिरी संसारसँग जोड्ने ब्लुटुथ, वाई-फाई, मोबाइल नेटवर्क, स्याटलाइट जस्ता प्रविधिलाई समेटिएको छ । यसका साथै क्यामेरा, सेन्सर र अनबोर्ड कम्प्युटरजस्ता प्रविधिलाई पनि समावेश गरिएको छ ।

अमेरिकी नागरिकको संवेदनशील डेटा सङ्कलन गर्नसक्ने सम्भावना रहेकाले नयाँ नियम ल्याउन आवश्यक भएको वक्तव्यमा उल्लेख छ । यस व्यवस्थाले अमेरिकाका गाडी निर्माता र आपूर्तिकर्तालाई चीनमा निर्मित हार्डवेयर र सफ्टवेयर आफ्नो गाडीबाट हटाउन बाध्य पार्नेछ । 

हालै बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय गाडीहरूमा १०० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । यसले गर्दा चीनमा बनेका ब्याट्री र गाडीका अन्य मुख्य सामग्रीहरूमा समेत कर बढेको थियो ।

अमेरिकी अधिकारीहरूले चीनले सस्ता विद्युतीय गाडीहरू निर्यात गर्दा अमेरिकी गाडी उद्योगमा ठूलो असर पुग्ने बताइरहेका छन् । केही चिनियाँ गाडी यति सस्ता छन् कि १०० प्रतिशत नै कर लगाउँदा पनि तिनलाई अमेरिकी बजारमा अन्य सवारीको तुलनामा कम मूल्यमा किन्न सकिन्छ । 

यसअघि नै अमेरिकाले चीनलाई सेमिकन्डक्टर, टेलिकम्युनिकेसन, साइबर सुरक्षा, ड्रोन जस्ता क्षेत्रमा निर्यात गर्न रोक लगाएको छ । चीनले भने अमेरिकाको यस कदमलाई राष्ट्रिय सुरक्षाको अवधारणाको गलत प्रयोग भनेर आलोचना गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८१ १५:५५




Leave a Reply

Your email address will not be published. Required fields are marked *