अझ स्मार्ट बन्दै इलामका यी दुई नगरपालिका, अनलाइनबाटै नागरिकताको सिफारिस
Home Latest News

अझ स्मार्ट बन्दै इलामका यी दुई नगरपालिका, अनलाइनबाटै नागरिकताको सिफारिस

Sep 26, 2024

काठमाडौं ।

इलामका दुई नगरपालिकामा अनलाइनबाट नागरिकताको सिफारिस दिन थालिएको छ। इलाम नगरपालिका र सूर्योदय नगरपालिकाका सबै वडा कार्यालयबाट दिइने सिफारिस अनलाइन प्रणालीबाटै थालिएको हो।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएको दुवै नगरपालिकाका छुट्टाछुट्टै कार्यक्रममा अनलाइन प्रणालीको थालनी गरिएको छ।

अबदेखि इलाम नगरपालिकाका १२ वटा वडा र सूर्योदय नगरपालिकाका १४ वटा वडामा अनलाइनबाटै नागरिकता सिफारिसका लागि आवेदकले आवेदन दिन सक्ने भएका छन्।

इलाम नगरपालिका-४ र सूर्योदय नगरपालिका-२ बाट अनलाइन सिफारिस दिन थालिएको हो। सेवाग्राहीले सिफारिसका लागि आवश्यक कागजपत्र लिएर वडामा गएपछि वडा कार्यालय आफैँले जिल्ला प्रशासन कार्यालयको अनलाइनमा नागरिकता अनुसूचीको फाराम भरेर अपलोड गरिदिने इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालल बताए।

“सेवाग्राहीले वडामा आएर आफ्नो विवरण र आवश्यक कागजात दिनुहुन्छ, हामीले त्यसलाई अनलाइन अनुसूची भरेर अन्य प्रमाणपत्रको स्क्यान गरी जिल्ला प्रशासन र गृह मन्त्रालयका समेत वेबसाइटका अनलाइनमा अपलोड गछौं” प्रवक्ता दुलालले भने, “सेवाग्राहीले आफ्नो सनाखत गर्न व्यक्ति मात्र लिएर जिल्ला प्रशासनमा नागरिकता लिन जाँदा हुन्छ।”

नगरपालिकाले सबै वडा सचिवलाई अनलाइन सेवासम्बन्धी प्रशिक्षणसमेत दिएको छ।

सूर्याेदय-२ मा अनलाइनबाट नागरिकतासम्बन्धी सेवा सुरु गरिएको छ । नागरिकताका लागि अनलाइन सेवा सुरु गर्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले शून्य कागजको नीति अनुसार गृह मन्त्रालयले गरेको परिपत्र अनुसार इलाममा काम थालिएको बताए।

उनले भने, “यसबाट कामको प्रभावकारिता बढ्ने अपेक्षा छ। साथै किर्त नागरिकता बनाउने समस्याको अन्त्य हुने छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *