काठमाडौं । दशैं-तिहारको समयमा हुनसक्ने आपाराधिक क्रियाकलापलाई नियन्त्रण गर्न काठमाडौं उपत्यका प्रहरीले ड्रोनबाट पनि निगरानी गर्ने भएको छ। शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले दशैं-तिहारको समयमा ड्रोनबाट उपत्यकाका भिडभाड हुने विभिन्न स्थानमा निगरानी गर्ने जनाएको हो ।
यस बाहेक दशैं-तिहार सुरक्षा योजना अन्तर्गत उपत्यकाका कुनै ठाउँमा घटना भइहाले आवश्यक सामग्रीसहित घटनास्थलमा यथाशीघ्र पुग्नेगरी ७६ ओटा ‘ई-क्यूआरटी’ टोली पनि परिचालन गरिने भएको छ ।
कुनै पनि घटना हुने वित्तिकै परिचालन हुने प्रहरीको टोलीलाई ‘क्यूआरटी’ अर्थात् ‘क्विक रेस्पोन्स टिम’ भनिन्छ भने ‘ई-क्यूआरटी’ भन्नाले आवश्यक प्राविधिक उपकरणसहितको ‘क्यूआरटी’ टिम भन्ने बुझिन्छ ।
‘ई-क्यूआरटी’ घटनास्थलमा पुगे/नपुगेकोदेखि घटनास्थलको लाइभ तस्वीर र भिडिओसम्म प्रहरीको सिस्टममा तुरुन्तै प्राप्त हुने हुँदा यसले अनुसन्धान प्रक्रिया सहज र छरितो हुने बताइन्छ ।
चाडबाट सुरक्षा योजना अन्तर्गत कलंकीको खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्नका लागि उपत्यकाका १६ ओटा स्थानमा प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा प्रत्येक टोलीमा १० जना रहने गरी सुरक्षाकर्मी परिचालन गरिने लगायतका योजना पनि ल्याइएको छ । त्यस्तै २४ टोलीले मोबाइल भ्यानमार्फत गस्ती समेत गर्नेछ ।
पछिल्लो अध्यावधिक: असोज ११, २०८१ १५:१९