भरतपुरदेखि मुस्ताङसम्मको रुटमा ६ ओटा फास्ट चार्जिङ स्टेसन थपिँदै
IT News Travel Gadgets

भरतपुरदेखि मुस्ताङसम्मको रुटमा ६ ओटा फास्ट चार्जिङ स्टेसन थपिँदै

Sep 27, 2024

काठमाडौं । भरतपुरदेखि मुस्ताङसम्मका ६ ठाउँमा फास्ट चार्जिङ स्टेसन थपिने भएको छ । भरतपुरस्थित प्राइम टेक सोलुसनले उक्त रुटका विभिन्न स्थानमा एकैसाथ फास्ट चार्जिङ स्टेसन जडान गर्न लागेको हो ।

कम्पनीले हाल भरतपुरको पारस बसपार्कमा सीसीएस-२ ४० किलोवाटका चार युनिट डीसी चार्जर र जीबीटी ४० किलोवाटका चार युनिट डीसी चार्जर जडान गरिसकेको छ, जसमा दुई चार्जर सञ्चालनमा आइसकेका छन् ।

यस बाहेक कम्पनीले हाल पोखरा, कुश्मा, बेनी, गलेश्वर र जोमसोममा पनि जडान प्रक्रिया अगाडि बढाएको छ । प्राइम टेक सोलुसनका प्रबन्ध निर्देशक शिव सुवेदीले टेकपानालाई दिएको जानकारी अनुसार पोखराको लेकसाइडमा सीसीएस-२​ र जीबीटी ४०/४० किलोवाटका चार्जर जडान हुने क्रममा छन् ।

पोखरामा दशैं लगत्तै चार्जिङ स्टेसन सञ्चालनमा आउने सुवेदीको भनाइ छ । यस्तै, पर्वत कुश्माको स्वर्ग होटल र बेनीस्थित होटल ज्ञानगौरीमा दशैं​ अगाडि नै सञ्चालनमा आउनेगरी चार्जर जडानको काम भइरहेको उनले बताए ।

ज्ञानगौरीमा पनि जीबीटी ४० किलोवाटका दुई युनिट ‍डीसी चार्जर र सीसीएस-२ ४० किलोवाटका दुई युनिट चार्जर जडान गर्न लागिएको उनले जानकारी दिए । त्यस्तै गलेश्वरको होटल याकमा दशैँ पछाडि सञ्चालनमा आउने गरी चार्जिङ स्टेसन निर्माण कार्य अगाडि बढेको उनले सुनाए ।

होटल याकमा भने जीबीटी ४० किलोवाटका र सीसीएस-२ ४० किलोवाटका एक-एक युनिट फास्ट डीसी चार्जर जडान गरिँदैछ । यस्तै, मुस्ताङको जोमसोममा पनि प्राइम टेकले चार्जर जडान गर्ने भएको छ । कम्पनीका अनुसार जोमसोममा दशैँ लगत्तै जीबीटी सीसीएस-२ अन्तर्गत ४०/४० किलोवाट गरी चार ओटा चार्जर सञ्चालनमा आउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज ११, २०८१ १७:३६




Leave a Reply

Your email address will not be published. Required fields are marked *