अन्तरिक्षमा अड्किएका यात्रुलाई लिन पुग्यो एलन मस्कको यान
IT

अन्तरिक्षमा अड्किएका यात्रुलाई लिन पुग्यो एलन मस्कको यान

Sep 30, 2024

काठमाडौं । तीन महिनादेखि अन्तरिक्षमा फसेका सुनिता विलियम्स र बेरी विल्मरलाई पृथ्वीमा ल्याउन उडेको स्पेसएक्सको अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा पुगेको छ । स्पेसएक्सको ‘ड्रागन’ नामक अन्तरिक्षयानको क्याप्सुल आईएसएसमा पुगेको नासाले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

क्रु-९ मिसनको हिस्सा रहेको यस अन्तरिक्षयान गत शनिवार फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट प्रक्षेपण गरिएको थियो । यस यानबाट नासाका दुई अन्तरिक्षयात्री निक ह्याग र अलेक्जेन्डर गोर्बुनोभ आईएसएस गएका छन् ।

चार अन्तरिक्षयात्री अट्न सक्ने ड्रागन यानमा सुनिता र बेरीको उद्धारका लागि दुई सिट खाली छाडिएको थियो । तर सुनिता र बेरी तत्कालै फर्कने छैनन् । नासाका अनुसार उनीहरूलाई पृथ्वीमा फर्कन अझै पाँच महिना लाग्ने छ । 

सो समयमा उनीहरूले आईएसएसमा रगत जम्नेबारे, अन्तरिक्षमा उब्जाइएको बिरुवाहरूमा आर्द्रताको प्रभाव र अन्तरिक्षयात्रीहरूमा देखिने दृष्टि परिवर्तन जस्ता २०० बढी वैज्ञानिक अनुसन्धान गर्ने बताइएको छ । त्यसपछि मात्र आउँदो फेब्रुअरीतिर ह्याग र गोर्बुनोभसँगै सुनिता र बेरी पृथ्वीमा फर्किनेछन् ।  

सुनिता र उनका सहकर्मी बेरी गत जुनदेखि अन्तरिक्षमा नै अड्किएका छन् । बोइङको मानव सहितको स्टारलाइनर अन्तरिक्ष यान प्रक्षेपण गर्ने क्रममा उनीहरू त्यहाँ अड्किएका हुन् ।

 

पछिल्लो अध्यावधिक: असोज १४, २०८१ १३:१५




Leave a Reply

Your email address will not be published. Required fields are marked *