
सगरमाथामा परीक्षण गरिएको ड्रोन बाढी-पहिरो पीडितका लागि आवश्यक राहत सामग्री पुर्याउँदै
काभ्रेको दुर्गम वस्ती मगर गाउँमा जरुरी राहत सामग्री पुर्याउने कार्यमा ड्रोन प्रयोग गर्न थालिएको छ । एयरलिफ्ट टेक्नोलोजीले हाम्रो टिम नेपालसँगको सहकार्यमा आइतबारदेखि राहत आपूर्ति थालेको हो ।
पनौती नगरपालिकाबाट पैदल ३ घण्टाको दुरीमा रहेको सो गाउँ पुग्ने बाटो पूर्ण रूपमा बिग्रिएको छ । खाने पानीको समेत अभाव रहेको सो ठाउँमा विकटताका कारण राहत सामग्री समेत पुग्न नसकेको एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेले बताए ।
“राहत सामग्री पुर्याउन कठिन भएकाले दातृ संस्थाहरू पनि तल पनौती क्षेत्रमा मात्रै सीमित रहेको पाइयो,” उनले भने, “शनिबार तीन घण्टा लगाएर हामी मगर गाउँ पुग्दा त्यहाँको बेहाल देखेपछि ड्रोनबाटै राहत सामग्री पुर्याउने योजना बनायौं । हामीले साथमा खानका लागि बोकेका पानीका बोतल देखेर त्यहाँका बालबालिकाहरूले ‘पानी पानी’ भन्दै चिच्याएपछि त्यहाँको बेहाल महसुस गर्यौं ।”
पाण्डेका अनुसार पनौती नगरपालिका वडा नम्बर १२ मा पर्ने मगर गाउँ पनौती बजारको गाडी पुग्ने अन्तिम विन्दुबाट १.५ हवाई दुरीमा छ । उनले अगाडि भने, “हाम्रो टिम नेपाल नामक संस्थाले खाद्यान्न लगायतका राहत सामग्री जुटाउनु भएको छ । हामीले निःशुल्क प्राविधिक सेवाको रूपमा ड्रोन मार्फत पानी, खाद्यान्न, स्यानिटरी प्याड, रासन लगायतका सामग्री माथिको मगर गाउँमा पुर्याइरहेका छौं ।”
आइतबार ३ बजेदेखि सुरु गरिएको ड्रोन डेलिभरीबाट ३०० केजी सामग्री आपूर्ति भइसकेको जानकारी पाण्डेेले दिए । “आज सोमबार ८०० केजी ढुवानी गर्दैछौं,” टेकपानासँगको कुराकानीमा उनले भने । मगर गाउँमा ड्रोनमार्फत राहत सामग्री पुर्याउने कार्यमा एयरलिफ्ट टेक्नोलोजीका तीन जना र हाम्रो नेपाल टिमका १० जना युवाहरू खटिएका छन् ।
डीजेआईको फ्लाइकार्ट ३० नामक यो ड्रोनले गत वैशाखमा सगरमाथाको आधार शिविरदेखि क्याम्प वनसम्म फोहोर बोक्ने कार्यका लागि परीक्षण गरिएको थियो । ब्याट्री नराख्दा ४५ केजी तौल रहेको यो ड्रोनमा ३८ हजार एमएएच क्षमताका १०/१० केजीका दुई ब्याट्री छन् । यसले एक पटकमा ३० केजीसम्मको तौल बोकेर लैजान सक्छ । यसरी एक पटकको फुल चार्जमा ड्रोनले २० किमिसम्मको रेन्ज दिन सक्छ ।
रातो माटो रहेको सो ठाउँ जथाभाबी रूपमा गरिएका खानी उत्खनन कार्यले बाढी र पहिरोको मारमा परेको हो । जसले गर्दा हिँडेर जान समेत कतिपय ठाउँमा बाटो छैन । मगर गाउँ जाने बाटो बनाउन करिब एक महिना जति लाग्ने अनुमान गरिएको छ ।