ह्वाट्सएप बम धम्कीपछि त्रिभुवनमा सुरक्षा जाँच
Cyber Security Travel

ह्वाट्सएप बम धम्कीपछि त्रिभुवनमा सुरक्षा जाँच

Oct 22, 2024

दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको जहाजमा बम राखिएको धम्कीपूर्ण सूचनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडा सुरक्षा जाँच गरिएको छ ।

मङ्गलबार दिउँसो साढे ४ बजे अवतरण गरेको उक्त जहाजमा रहेका १५७ यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर सेनाको बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरहरूले चेकजाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका ​उपप्रबन्धक एवं सूचना अधिकारी  ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उक्त धम्कीयुक्त सूचना भारतीय नम्बरबाट ह्वाट्सएपमा आएको बताइएको छ । यद्यपि, अहिलेसम्म कुनै शंकास्पद वस्तु फेला नपरेको सूचना अधिकारी भुलले बताए ।

पछिल्लो समय भारतमा यस्ता धम्कीपूर्ण सूचना पटकपटक आएको देखिन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार हालै भारतमा १०० भन्दा बढी उडानहरूमा बमको धम्की दिइएको छ, जसका कारण धेरै उडानहरू प्रभावित भएका छन् । यसै क्रममा दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको यो फ्लाइटमा पनि बमको सूचना आएको हो । 

उक्त धम्कीपछि भिस्तारा एयरको जहाजलाई छुट्टै राखेर कडा सुरक्षा जाँच गरिएको भुलले जनाए । उनका अनुसार यात्रुहरूलाई बाहिर निकालेर ह्यान्डक्यारी र सामानहरूलाई पनि जाँच गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडानहरू भने सामान्य रूपमा सञ्चालन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *