दुबई को मरुभूमिमा हराएका पर्यटकले उबर बोलाउँदा उँट आएपछि
Travel

दुबई को मरुभूमिमा हराएका पर्यटकले उबर बोलाउँदा उँट आएपछि

Oct 28, 2024

दुबई ले दुनियाँलाई अचम्मित बनाउन कुनै कसर बाँकी छोड्दैन । गगन चुम्ने भवन, विश्वकै गहिरो स्विमिङ पुलदेखि फ्युचरिस्टिक आर्किटेक्चर हुँदै आरामदायी जीवनशैलीका विविध पक्षमा दुबई अगाडि छ । त्यसैमा पछिल्लो समय इन्टरनेटमा भाइरल एक घटनाले पनि दुबईलाई थप चर्चा दिएको छ ।

भिडिओमा एक युवती मरुभूमिको बीच भागमा पर्खिरहेकी देखिन्छिन् । त्यसपछि फोन निकालेर त्यसमा राइड हेलिङ एप उबर खोल्छिन् । त्यसमा ऊँटको विकल्प देखेपछि उनी चकित पर्छिन् ।

दुबई-हट्टा सडकको अल बडायरमा खिचिएको भनिएको यस भिडिओमा महिलाहरूले उबर एप स्क्रोल गर्दै गरेको देखिन्छ । खासमा उनले तत्कालको उद्धार खोजिरहेको देख्न सकिन्छ । तर, उनीहरूले एटीभी (बालुवा, ढुङ्गा आदिमा कुदाउन बनाइएको चार पाङ्ग्रे सवारी) मात्र नभई ऊँटसमेत अर्डर गर्न सकिने विकल्प भेट्दा अचम्भित हुन्छन् ।

भिडिओमा महिलामध्ये एकले आफ्नो अवस्था बताइरहेको सुन्न सकिन्छ । “हामी हरायौं र उबर एप खोल्ने निर्णय गर्‍यौं,” उँटलाई गाडीझैं सजिलै अर्डर गर्न सकिने देख्दा अचम्भित हुँदै उनी भन्छिन् । केही समयपछि एक जना व्यक्ति ऊँट लिएर आइपुग्छन् । जसले महिलाहरूलाई रमाइलो र आश्चर्यचकित बनाउँछ । उँट नजिक आउँदा उनीहरूमध्ये एक युवती भन्छिन्, “हामी हरायौं र ऊँट अर्डर गर्‍यौं !”​

‘जेटसेट दुबई’ नामको इन्स्टाग्राम अकाउन्टबाट शेयर भएको छ । १० अक्टोबरमा शेयर गरिएको सो भिडिओमा एक लाख बढी लाइक आएको देख्न सकिन्छ । उक्त अकाउन्टले आफूहरू दुबईमा एटीभी उपलब्ध गराउनेदेखि अन्य विविध सेवाहरू दिने दाबी गरेको छ ।

यो वास्तविक घटना हो वा काल्पनिक हो भन्ने विषयमा धेरैले शंका व्यक्त गरेका छन् । खासगरी मरुभूमिको बीच भागमा हराएको भनिए पनि त्यो ठाउँ बीच भाग जस्तो नदेखिएको केही प्रयोगकर्ताको शंका छ । त्यसैगरी उँटको नम्बर समेत उपलब्ध गराइएको विषयले धेरैको ध्यान खिचेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *