
आइसल्याण्डले २०३० सम्म सौर्य ऊर्जा पाउने
बेलायती स्टार्टअपले २०३० सम्ममा आइसल्यान्डका मानिसहरूलाई अन्तरिक्षबाट सौर्य ऊर्जा उपलब्ध गराउने योजना बनाएको छ जसले संसारमा यो नयाँ नवीकरणीय ऊर्जाको पहिलो उदाहरण हुनसक्छ।
;स्पेस डटकमका अनुसार यो स्पेस सोलार पावर प्रोजेक्ट अक्टोबर २१ मा घोषणा गरिएको थियो र यो बेलायतको कम्पनी स्पेस सोलार, रेक्जाविक इनर्जी र आइसल्यान्डको दिगोपन पहल ट्रान्जिशन ल्याब्सबीचको साझेदारी हो।
यो परियोजनाले सन् २०३० सम्ममा एक डेमोन्स्ट्रेटर स्याटेलाइट प्रक्षेपण गर्ने लक्ष्य राखेको छ, जसले पृथ्वीमा ३० मेगावाट सफा ऊर्जा पठाउनेछ — जुन ३,००० घरलाई आपूर्ति गर्न पर्याप्त हुने बताइएको छ।
ऊर्जा पठाउने स्याटेलाइटको तौल ७०.५ टन (६४ मेट्रिक टन) हुनेछ र यसले १,३१२ फिट (४०० मिटर) चौडाइ ओगट्नेछ (सोलार एरेसहित)। यो स्याटेलाइटले पृथ्वीको माध्यमिक कक्षमा (१,२४१ माइलदेखि २२,००० माइल) परिक्रमा गर्नेछ।
सन् २०३६ सम्ममा साझेदारहरूले ६ वटा यस्ता स्पेस सोलार पावर स्टेसनहरूको समूह बनाउने लक्ष्य राखेका छन्, जसले मौसमको प्रभाव बिना नै २४/७ गिगावाट स्तरको सफा ऊर्जा पृथ्वीमा उपलब्ध गराउनेछ। २०४० को दशकको मध्यसम्ममा, स्पेस सोलारका कक्षमा रहेका ऊर्जा केन्द्रहरूले १५ गिगावाट भन्दा बढी ऊर्जा उपलब्ध गराउन सक्छन्।
स्पेस सोलारका अनुसार यो पाइलट प्लान्टको विकास र निर्माणमा ८० करोड डलर खर्च हुनेछ। यो प्रणालीले परमाणु ऊर्जाको एक चौथाइ लागतमा प्रति गिगावाट २.२५ बिलियन डलरमा बिजुली प्रदान गर्नेछ, जसले यसलाई पृथ्वीको सतहमा रहेका अन्य नवीकरणीय स्रोतहरूसँग प्रतिस्पर्धी बनाउनेछ।
पृथ्वीमा भएका सौर्य प्यानल र पवन टर्बाइनहरूको विपरीत अन्तरिक्षमा रहेका ऊर्जा केन्द्रहरूले दिनको कुनै पनि समयमा र मौसमको प्रभाव बिना नै निरन्तर बिजुली उत्पादन गर्न सक्ने स्पेस डटकमले उल्लेख गरेको छ।