
हामीले भाडा संरचनामा कुनै परिवर्तन गरेका छैनौ पठाओ
तिहारको छेकोमा राइड हेलिङ प्लेटफर्म इन्ड्राइभले तीन गुणासम्म भाडा बढाउँदा आफूहरूले भने मूल्य संरचनामा कुनै परिवर्तन नगरेको पठाओले जनाएको छ । चाडबाडमा राइड सेवा दिने कम्पनीले चर्को शुल्क लिएको सार्वजनिक टिप्पणी भएपछि पठाओले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो ।
कहिलेकाहीँ माग र आपूर्तिको सन्तुलन मिलाउन सर्ज चार्ज भने लिने गरेको कम्पनीको भनाइ छ । “कुनै स्थानमा राइडर वा ट्याक्सी चालकको संख्या कम भएको समयमा सफ्टवेयरमार्फत नै स्वचालित रूपमा मूल्य बढ्छ, जसलाई हामी सर्ज चार्ज भन्छौँ,” पठाओले विज्ञप्तिमा लेखेको छ ।
यसको उद्देश्य भने माग र आपूर्तिको सन्तुलन कायम राख्नु भएको पठाओको भनाइ छ । यो एक अन्तर्राष्ट्रिय अभ्यास भएकाले विगत ६ वर्षदेखि नै अभ्यास गर्दै आएको पठाओले जनाएको छ । बरु तिहारको उपलक्ष्यमा ग्राहकहरूलाई थप सहज होस् भन्ने उद्देश्यले प्रोमो कोडहरू उपलब्ध गराएको पठाओले बताएको छ ।