एएनआईले ओपनएआईविरुद्ध अनुमति बिना सामग्री प्रयोगको मुद्दा दायर गरेको छ
AI

एएनआईले ओपनएआईविरुद्ध अनुमति बिना सामग्री प्रयोगको मुद्दा दायर गरेको छ

Nov 20, 2024

भारतीय समाचार संस्था एएनआईले ओपनएआईविरुद्ध नयाँ दिल्लीको अदालतमा मुद्दा हालेको छ।  च्याटजीपीटी बनाउने कम्पनीले आफ्नो प्रकाशित सामग्री अनुमति बिना प्रयोग गरेर आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटलाई प्रशिक्षण दिएको एएनआईले आरोप लगाएको छ। ओपनएआईले भने यस्तो अभ्यास रोकिसकेको बताएको छ।

एएनआई यस प्रकारको मुद्दा हाल्ने विश्वव्यापी समाचार संस्थामध्ये नयाँ हो। यसअघि अमेरिकामा न्युयोर्क टाइम्स र शिकागो ट्रिब्युनजस्ता अखबारहरूले पनि ओपनएआई विरुद्ध मुद्दा दायर गरेका रोयटर्सले उल्लेख गरेको छ।

मंगलबार नयाँ दिल्ली उच्च अदालतमा यस मुद्दाको पहिलो सुनुवाइ भयो, जहाँ न्यायाधीशले ओपनएआई लाई एएनआई का आरोपहरूको विस्तृत जवाफ दिन आदेश दिए।

एएनआईले दिएको बयानमा भनिएको छ, “अदालतले एआई प्लेटफर्महरूले सार्वजनिक रूपमा उपलब्ध रहेको स्वामित्व सामग्रीको प्रयोग वैध हो कि होइन भन्ने निर्णय गर्नुपर्नेछ।”

एएनआईले आफ्नो अदालती निवेदनमा ओपनएआईको च्याटजीपीटीले एएनआईका नाममा झूटा समाचारहरू बनाएको आरोप पनि लगाएको छ। सोमबार मितिको अदालती फाइलिङमा ओपनएआई का वकिलहरूले एएनआईलाई पठाएको ईमेल समावेश छ।

ती ईमेल अनुसार सेप्टेम्बरदेखि एएनआईको वेबसाइटलाई ओपनएआईले आन्तरिक ब्लक सूचीमा राखेको र भविष्यमा एआई मोडलको प्रशिक्षणका लागि त्यसको सामग्री प्रयोग नगर्ने बताइएको छ।

तर च्याटजीपीटीमा यसको प्रकाशित सामग्री “स्थायी रूपमा भण्डारण गरिएको” छ र “त्यो मेटाउन कुनै प्रोग्राम गरिएको छैन भन्ने एएनआई को दाबी छ।”

एएनआईको मुद्दाबारे सोध्दा ओपनएआईका प्रवक्ताले भने, “हामी हाम्रो एआई मोडलहरू सार्वजनिक रूपमा उपलब्ध डाटाको प्रयोगबाट बनाउँछौं, जसलाई उचित प्रयोग र अन्य सम्बन्धित कानुनी सिद्धान्तहरूले सुरक्षित गरेको छ।”

ओपनएआई र अन्य प्रविधि कम्पनीहरू हालै लेखक, दृश्य कलाकार, संगीत प्रकाशक, र अन्य सामग्रीका स्वामित्वकर्ताहरूबाट अनुमति बिना उनीहरूको काम प्रयोग गरेको आरोपमा धेरै मुद्दाहरू सामना गर्दै आएका छन्। ओपनएआई ले भने यी मुद्दाहरूमा प्रतिलिपि अधिकारको उल्लङ्घन नगरेको बताएको छ।

ओपनएआईले एएनआईका मूल कामहरू प्रयोग गर्न ‘कानूनी अनुमति वा लाइसेन्स लिन अस्वीकार गरेको’ एएनआई को निवेदनमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *