अमेरिकामा डीपसिक प्रयोगकर्ताहरूले नयाँ कानून अन्तर्गत लाखौं डलर जरिवाना र जेल सजाय भोग्न सक्ने
IT

अमेरिकामा डीपसिक प्रयोगकर्ताहरूले नयाँ कानून अन्तर्गत लाखौं डलर जरिवाना र जेल सजाय भोग्न सक्ने

Feb 7, 2025

काठमाडौं ।

भर्खरको प्रस्तावित कानूनले अमेरिकामा चिनियाँ एआई एप डीपसिक प्रयोग गरेकोमा ठूलो जरिवाना वा जेल सजाय भोग्न सक्ने बताइएको छ।

रिपब्लिकन सिनेटर जोस हाउलीले पेश गरेको उक्त बिलको उद्देश्य “संयुक्त राज्य अमेरिकाका व्यक्तिहरूलाई जनवादी गणतन्त्र चीन र अन्य व्यक्तिहरूका लागि कृत्रिम बुद्धिमता क्षमताहरू विकास गर्नबाट निषेध गर्ने” रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रस्तावित कानूनले चीनमा विकसित “प्रविधि वा बौद्धिक सम्पति” को आयातलाई रोक्न सक्ने र प्रतिबन्धहरू उल्लङ्घन गर्नेले २० वर्षको जेल सजाय भोग्ने उल्लेख गरिएको छ।

त्यसैगरी व्यक्तिहरूलाई १ मिलियन अमेरिकी डलर सम्म जरिवाना गर्न पनि सकिने बताइएको छ भने व्यवसायहरूको लागि यो १०० मिलियन अमेरिकी डलर सम्म पुग्न सक्ने उल्लेख गरिएको छ।

यद्यपि यसले नामबाट डीपसिक भनेर उल्लेख नगरेको भए तापनि चिनियाँ च्याटबट अमेरिकामा सबैभन्दा लोकप्रिय एआई एप बनेको एक हप्ता पछि यो कदम आएको बताइएको छ। साथै अमेरिकामा डीपसिकको आगमनसँगै अमेरिकी टेक स्टकहरूमा पनि गिरावट आएको थियो।

यसको अचानक लोकप्रियताले चिनियाँ कम्युनिष्ट पार्टीका लागि संवेदनशील विषयहरूको बारेमा प्रश्नहरूको जवाफ दिन डीपसिकको असक्षमता लगायत सुरक्षा, गोपनीयता र नैतिकताको बारेमा चिन्ता उत्पन्न गरेको उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपलाई अमेरिकी प्राविधिक उद्योगको लागि “वेक–अप कल” को रूपमा वर्णन गरेका थिए भने ह्वाइट हाउसले राष्ट्रिय सुरक्षामा डीपसिकको प्रभावहरूको मूल्याङ्कन गरेको छ।

त्यसैगरी संयुक्त राज्य अमेरिकाको नौसेनाले आफ्ना सदस्यहरूलाई काम सम्बन्धी कार्यहरू वा व्यक्तिगत प्रयोगका लागि डीपसिक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। साथै नासाले सरकारद्वारा जारी गरिएका उपकरणहरू र नेटवर्कहरूमा एआई प्रविधिलाई प्रतिबन्ध लगाएको छ।

यसबाहेक, धेरै राज्यहरूले पनि डीपसिकमाथि प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेका छन् भनि संकेत गरेका छन्। साथै टेक्सास सरकारी उपकरणमा प्रतिबन्ध लागू गर्ने पहिलो बनेको छ।

“टेक्सासले चिनियाँ कम्युनिष्ट पार्टीलाई एआई र सामाजिक सञ्जाल डाटा सङ्कलन एप्लिकेसनहरू मार्फत हाम्रो राज्यको महत्वपूर्ण पूर्वाधारमा घुसपैठ गर्न अनुमति दिने छैनौँ” भनि टेक्सासका गभर्नर ग्रेग एबोटले बताएको टेलिग्राफले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *