गैरकानूनीरुपमा आईफोन आयात गर्न खोज्दै आईटी उद्यमी पाण्डे, नियामक र आयातकर्तालाई आरोप लगाउँदै

काठमाडौं ।

नेपालमा सूचना प्रविधिको उद्यम व्यवसाय गर्दै आएका व्यवसायी तथा उद्यमी रुद्र राज पाण्डेले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र त्यसका कर्मचारीहरुले घुस खाएको गंभिर आरोप सामाजिक संजालमार्फत लगाएका छन्।

हाल अमेरिकामा रहेका पाण्डेले आफ्नो डियरवाक ग्रुप अन्तरगत रहेको कम्पनी डियरकम्पवेयर लिमिटेडले नेपालमा आईफोन आयात गर्न प्रयास गरेको भन्दै त्यसमा दूरसञ्चार प्राधिकरणले घुस खाएको गंभिर आरोप आफ्नो दुईओटा फेसबुक पेज र एक्स पोस्ट लेखेका छन्।

सेप्टेम्बर ११ तारिखमा राखिएको भएको उक्त पोस्टमा उनले तीन महिना अगाडि एनटिएमा आईफोन आयातको लागि आफ्नो कम्पनी अनुमति पत्र माग्न गएको र त्यसमा प्राधिकरणले अनुमति नदिएको आरोप लगाएका छन्।

उनले डियरवाक ग्रुपको एप्पलसँगको सम्झौता हुनुपर्ने कागत माग गरिएको र तर आफूसहितका कुनै कम्पनीसँग नभएको दाबी गरेका छन्।

उनले एनटीएले जेननेक्स्ट नामक कम्पनीसँग घुस खाएर उक्त कम्पनीलाई इजाजत दिएको दाबी गरेका छन्।

उनले जेननेक्स्ट भन्ने कम्पनीले नेपालमा आईफोन आयात गर्ने एकाधिकार पाएको भन्दै उक्त कम्पनीको एप्पलसँग कुनै सम्झौता नभएको जिकिर गरेका छन्।

त्यसैगरी उनले उक्त सम्झौता देखाउनुपर्ने माग गरेका छन्।

डियरवाक ग्रुपले दुबईबाट सप्लायरसँग सम्झौता गरेर ल्याउने जानकारी दिँदै जेननेक्स्टलाई इजाजत दिने हामीलाई किन नदिने ? भन्ने प्रश्न गर्दै आफूहरुसँग घुस खान खोजेको अनुमान गरे।

उनको यो पोस्टमा दर्जनौं कमेन्ट आएको देखिन्छ भने नेपालका आर्थिक पत्रकारहरुले पनि उक्त पोस्टलाई रिपोस्ट/शेयर गरेको देखिन्छ।

उनले सरकारलाई एनटीएले घुस खाएकोमा ध्यान दिन समेत भनेका छन्।

यस्तै उनले आज फेरी अर्को पोस्ट गरेर एनटीएले आफ्नो कम्पनीको अनुगमन नगरेको र क्षमता समेत नहेरेको भन्दै थप आरोप लगाएका छन्। जसमा उनले आफ्नो कम्पनीलाई दिएको पत्र समेत सार्वजनिक गरेका छन्।

दोस्रो पोस्टमा “आफूले एप्पलको अन्तर्राष्ट्रिय मार्केटिंग शाखामा सम्पर्क गर्दा थाहा भो उनिहरुको नेपालमा आधिकारिक बिक्रेता कोही रहेनछ” भन्ने थाहा पाएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “एप्पलको अनुसार नेपालमा iPhone बेचन दुबई, सिंगापुर र भारतका डिस्ट्रिब्यूटरबाट किनेर नेपाल आयात गर्न पर्ने रहेछ। विदेशी डिस्ट्रीब्यूटर किनेर नेपालमा बेचने हक़ सिर्फ़ GenXT लाई देर NTA ले सो कम्पनीको एकाधिकार किन क़ायम गर्यों ?”

यदि एनटीएले यो निर्णय माथि पुनर्विचार नगरे मन्त्री कहाँ जाने र मन्त्रीले नगरे प्रधानमन्त्री कहाँ जाने र अन्त्यमा अदालत जाने चेतावनी दिएका छन्।

यसैगरी उनको कम्पनीलाई नियामकले दिएको पत्रमा प्राधिकरणले माग गरेको निवेदनअनुसार टाइप अप्रुभल नभएको र त्यसमा ब्राण्ड वा उत्पादकसँग सम्झौता नभएको देखिएको हुँदा एनटीएले थप कारबाही प्रकृया गर्न नपर्ने लेखिएको देखिन्छ।

रुद्र पाण्डेको पोस्टबाट।

यसले पछिल्लो समय नेपालमा आईफोन कसरी आयात हुन्छ र आईटी उद्यमी पाण्डेले पनि किन आईफोन दुबईबाट ल्याउन खोजे भन्ने प्रश्न आएको छ। त्यस्तै उनले जेननेक्स्ट भन्ने कम्पनीले अवैधरुपमा आयात गरेको भन्ने प्रश्न उठाएका छन्।

के पाण्डेको डियरवाकले आधिकारीरुपमा आईफोन ल्याउन लागेको हो ?

आईटी उद्यमी तथा व्यवसायी पाण्डेले आफूले सिधै एप्पल अमेरिकाबाट नभई दुबईबाट अर्को डिलरमार्फत आयात गर्न खोजेको प्रस्ट लेखेका छन्। उनले दुबईमा भएको आफ्नै अर्को कम्पनी डियरहोल्ड गल्फबाट नेपालमा आईफोन आयात गर्न खोजेको देखिन्छ।

उनले दुबईमा खोलेको उक्त कम्पनीले नेपालमा गाडीका पार्ट्स र ल्यापटपहरु लगायत आयात गर्ने गरेको वेबसाइटमा लेखिएको छ। सोही कम्पनीबाटै उनले नेपालमा आईफोन भित्र्याउन खोजेको देखिन्छ। उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको कागजातहरुमा पनि सोही देखिन्छ। र आफैंले पनि यो विषय पोस्टमा स्वीकार गरेका छन्।

यसकै लागि उनले प्राधिकरणबाट टाइप अप्रुभलको अनुमति पत्र मागेका थिए तर कानूनअनुसार उक्त टाइप अप्रुभल नपाएपछि उनले सामाजिक संजालमा गंभिर आरोप लगाउँदै आएको देखिन्छ।

एनटीए स्रोतले पनि उनको कम्पनीले गैरकानूनी आयात गर्न खोजेको दाबी गरेको छ। “उत्पादक वा ब्राण्ड कम्पनीसँग आधिकारीक सम्झौता गरेर ल्याएमा कुनै कानूनी समस्या नै छैन्,” स्रोतले भन्यो, “कयौं कम्पनीहरुले यहि कानूनअनुसार र प्रकृयाअनुसार आयात गरीरहेका छन्।”

टाइप अप्रुभल भनेको के हो ?

टाइप अप्रुभल भनेको सिधा भाषामा रेडियो टेलिकम्युनिकेसन्स उपकरणहरुको निश्चित आयातमा सरकारले कानून अनुसार दिने अनुमति हो। अर्थात नेपालमा भित्रने मोबाइल फोन, राउटर, स्मार्टवाच, स्मार्टब्याण्ड, ट्याबलेट लगायतका सिमसहितको जीपीएस ट्र्याकर लगायतका उपकरणहरुका लागि उक्त अनुमति चाहिन्छ। जसमा सिम प्रयोग हुने गर्दछ र आईएमईआई नम्बर राखिएको हुन्छ।

यस बाहेक ल्यापटप पेनड्राइभ कम्प्युटर लगायतका उपकरणहरुका लागि प्राधिकरणबाट त्यस्तो अनुमति लिनुपर्दैन्। यसलाई खुला आयात गर्न पाईन्छ।

त्यस्तै नेपालमा प्रयोग हुने वाकीटकीलाई भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रकृया पुरा गरेर आयात गर्न दिन्छ।

अब एनटीएले दिने दूरसञ्चार ऐनको दफा १३ र १४ अनुसार टाइपअप्रुभलको लागि प्राधिकरणले गाइडलाइन नै बनाएको छ जसलाई बुझ्ने भाषामा ट्याब-४ भनेर चिनिन्छ र त्यो वेबसाइटमा सबैका लागि उपलब्ध छ। सोही प्रकृया अन्तरगत एनटीएमा अनलाइनमार्फत नै आवेदन दिन र अन्तिममा प्रमाणपत्र लिनका लागि मात्र गए पुग्छ। जुन भन्सारमा देखाएर आईफोन लगायतका मोबाइल आयात गर्न सकिन्छ।

यसलाई एनटीएले पनि स्पष्ट भाषामा यो आयात अनुमति पत्र नभएको र सरकारको ऐन नियमअनुसार आयात गर्न, आयात हुने सामानहरुको प्राविधिक मापदण्ड तोकेअनुसार र प्रकृयागत व्यवस्थाका लागि लागू गरिएको उल्लेख गरेको छ।

यस बाहेक कसैले अनुसन्धानको लागि ल्याउन चाहेमा उक्त विषय उल्लेख गरेर निश्चित अवधिको लागि र निश्चित प्रकृयाअनुसार ल्याउन सक्नेछ तर त्यस्तो अनुसन्धान सकिएपछि डिभाइस फिर्ता गराउनुपर्ने हुन्छ।

टाइप अप्रुभल लिनका लागि वा एनटीएले दिनका लागि न त कम्पनी भिजिट गर्नुपर्छ न त कुनै अन्य इन्जिनियरिङ्ग प्राविधिक क्षमता छ/छैन भनेर हेर्नुपर्छ। तर पाण्डेले भने एनटीएका कर्मचारीले आफ्नो कम्पनी नगएको र सम्पर्क नगरेको दाबी गरेका छन्।

यहाँ पाण्डेको कम्पनी डियरवाक कम्पवेयरले भने सिधै दुबईबाट आयात गरेर नेपालमा आईफोन बिक्री गर्न खोजेको देखिन्छ।

यसको अर्थ उनले दुबईबाट आफ्नो अर्को कम्पनीका लागि किनेका आईफोनहरु अवैध वा गैरकानूनीरुपमा नेपालमा ल्याउन खोजेको देखिन्छ। जसलाई सरकार र नियामकले अवैध फोन वा ग्रे मार्केटको रुपमा बुझ्ने गर्दछ।

एनटी स्रोतले पनि पाण्डेको कम्पनीले एप्पलसँग नेपालका लागि आधिकारीक सम्झौता गरेर ल्याएमा स्वतः टाइप अप्रुभल पाउने र यतिधेरै हतकण्डा गर्नै नपर्ने बताए।

“उनको कम्पनीले दुबईबाट आईफोन आयात गर्न खोजेको छ। तर कम्पनीले उत्पादक निर्माता वा ब्राण्ड कम्पनीसँगको कुनै सम्झौता भएको देखाउन सकेका छैनन्। सिधै मैले किन आयात गर्न नपाउने भन्ने जिकिर मात्र उनले गरेका छन्,” एनटीए स्रोतले भन्यो, “कागजात नपुर्याई आयात गर्नु अवैध हो। यसले सरकारी राजस्व गुम्ने मात्र नभई ग्रे मार्केटलाई समेत प्रसय दिन्छ।”

“एनटीएको काम भनेको प्रकृयालाई सरलीकृत गर्ने हो। कम्पनी भिजिटमा जाने वा अनावश्यक सम्पर्क गरेर आयातकर्ता वा व्यवसायीलाई दुख दिने होईन्। त्यसैगरी यसको प्रकृया बनाईएको छ,” एनटीले स्रोतले भन्यो।

यस विषयमा उनले सामाजिक संजालमा लेखेपछि एनटीएमा समेत छलफल भएको थियो। जसमा पाण्डेको कम्पनीलाई दिईएको पत्र कानूनअनुसार नै भएको र उनले तोकिएका कागजात र सम्झौताहरु उपलब्ध नगराएको देखिएको ठहर भएको थियो।

नेपालमा कस्ले आयात गर्छ एप्पलको आईफोन ?

नेपालमा आधिकारीकरुपमा जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि अर्थात जेननेक्स्ट भन्ने कम्पनीले आधिकारीकरुपमा आईफोन आयात तथा बितरण गर्दै आएको छ। कम्पनीले सन् २०१२ देखिनै नेपालमा आईफोन भित्र्याउँदै आएको देखिन्छ।

कम्पनीका उच्च अधिकारीहरुसँग टेक्नोलोजीखबरले गरेको कुराकानी र  पाएको कागजातअनुसार जेननेक्स्टले एप्पलसँग पछिल्लो पटक अगस्ट ५,  २०२४ मा आधिकारीक सम्झौता अपडेट गरेको देखिन्छ। तर जेननेक्स्टका अधिकारीहरुले उक्त सम्झौता पत्र ‘एनडीए’ अर्थात नन डिस्क्लोजर एग्रीमेन्ट भएको हुँदा समाचारमा प्रकाशित गर्न नसकिने जानकारी दिए।

“तर हाम्रो कम्पनीमा आएर वा एनटीएमा पनि उक्त सम्झौता पत्र बुझाईएको हुँदा त्यहाँबाट पनि हेर्न सकिने छ र बुझ्न सक्नुहुन्छ,” जेननेक्स्टका एक उच्च अधिकारीले भने।

सोही सम्झौता पत्र र अन्य कागजातका आधारमा जेननेक्स्टले नेपालमा आधिकारीकरुपमा आईफोन आयात र बितरण गर्दै आएको छ। जसले आफूलाई आईफोनको डिस्ट्रिब्यूटर अर्थात आयातकर्ता भन्ने गर्दछ।

जेननेक्स्टले आयात गरेर नेपालमा ओलीज स्टोर, इभो स्टोर, लगायतका अन्य रिटेल कम्पनीहरुलाई आईफोन उपलब्ध गराउँछ र सोही स्टोरहरुमार्फत आईफोन बेचिन्छन्।

अझ महत्वपूर्ण भनेको एप्पलले जेननेक्स्टलाई आईफोन आयात गर्न र बिक्री गर्न दिएको छ भने कम्पनीको नेपालमा प्राविधिक काम गर्न र टाइप अप्रुभलको प्रकृयाका लागि छुट्टै कम्पनीलाई जिम्मा दिएको छ जसले एनटीएमा गएर नियमित कानूनी प्रकृयाहरु पुरा गर्दछ।

एनटीए स्रोतकाअनुसार उक्त अर्को कम्पनीले हाल एप्पलको नयाँ स्मार्टवाचको लागि टाइप अप्रुभलको आवेदन पेश गरेको छ। र सो प्रकृयामा नै रहेको छ। सोही प्रकृया जस्तै अन्य प्रकृया पुरा गरेपछि जेननेक्स्टले पाएको टाइप अप्रुभल पत्रको आधारमा आईफोन आयात गरिरहेको देखिन्छ।

यसको अर्थ उक्त सम्झौतालाई नियामक र सरकारले कानूनी मान्यता दिएका छन्, त्यसैले आधिकारीक सम्झौता हो भन्ने पनि बुझिन्छ।

यसैबीच जेननेक्स्टका उच्च अधिकारीहरुले आफूहरुको विरुद्धमा निराधार कुरा गरेको र ब्राण्डकै प्रतिष्ठामा आँच पुर्याएको भन्दै कानूनी उपचारमा जान सल्लाह गरिरहेको बताएका छन्।

“हामीले नेपालमा मात्र नभई विभिन्न एक दर्जन देशमा एप्पल उत्पादनहरु आयात र बितरण गर्ने गर्दछौं। त्यसले सामाजिक संजालमा आएका विषयहरु गलत हुन्, कानूनी सल्लाहकारसँग छलफलमा छौं,” कम्पनीका अधिकारीले टेक्नोलोजीखबरसँग भने।

एनटीएको भूमिकामा प्रश्न ?

आईटी उद्यमी तथा व्यवसायी पाण्डले एनटीले सो प्रकृयामा घुस खाएको वा आफूहरुसँग घुस मागेको भन्ने विषय उठान गरेका छन्। तर टाइप ४ प्रकृयाका लागि नियामकले कागजात पुरा गरेको दुई साता भित्र टाइप अप्रुभल जारी गर्ने गरेको र त्यसलाई थप सरलिकृत गर्दै लगिएको बताएको छ। एनटी स्रोतले आफूहरुलाई गंभिर आक्षेप लगाएको भन्दै पाण्डेले यस्तै गतिबिधि यसअघि समेत गरेको गुनासो गरे।

“यसअघि पनि जीएसएम ट्र्याकर भित्र्याउँदा उनको कर्मचारीले काजगात र प्रकृया पुरा नै नगरी आयात गर्न खोज्दा हामीलाई आक्षेप लगाएका थिए। अहिले त घुस नै खाएको आरोप लगाए,” स्रोतले भन्यो, “उनको कागजात हेर्दा दुबईमा बिक्री गर्न भनेर किनेको आईफोन नेपालमा ल्याउन खोजेको देखिन्छ। जुन कानूनअनुसार अवैध हुन्छ। त्यसलाई टाइप अप्रुभल दिन मिल्दैन्।”

स्मरण रहोस्, उनको कम्पनी हाम्रो पात्रोले यसअघि नेपालमा जीएसएम ट्र्याकर भन्सारमा ल्याईसकेपछि त्यसको टाइप अप्रुभल नभएको भन्दै भन्सारले रोकिदिएको थियो र पछि एनटीएबाट टाइप अप्रुभल लिएर आयात गरेका थिए। त्यस बेलामा पनि उनले यस्तै हर्कत र सामाजिक संजालमा रोष प्रकट गरेका थिए।

सम्बन्धित समाचार-

हाम्रो पात्रोले ‘अवैधरुप’मा भित्र्याउन लागेको ट्रयाकिङ डिभाइस भन्सारमा अलपत्र, प्राधिकरणमा अझै बुझाएन कागजपत्र

 

यस बाहेक राष्ट्रिय आविश्कार केन्द्रको लागि गोफण्डमी मार्फत उठाएको रकम नदिएको विषयमा पनि उनले महावीर पुनसँग नेपालको आईटी डेकै दिनमा सामाजिक संजालमा जुहारी खेलेका थिए। यदपी पछि उक्त रकम हस्तान्तरण गरेको बताएका थिए।

सम्बन्धित समाचार-

‘आईसीटी डे’ कै दिन आईसीटी क्षेत्रमा आबद्ध रुद्रराज पाण्डे र महावीर पुन बिच सामाजिक सञ्जालमा जुहारी

एनटीएका अनुसार उक्त विषयमा हाल कम्पनीले ४ ओटा आईफोन (संभवत आईफोन १५ प्रो म्याक्स) परीक्षण गरेर बिक्रीका लागि इजाजत पत्र दिन माग गरेको छ।

तर कानूनी रुपमा उक्त पत्र दिन नमिल्ने भएपछि कम्पनीले अहिले अनुसन्धान गर्ने र परीक्षण गर्ने भन्ने उद्देश्यअनुसार अनुमति पाउन सक्ने बताईएको छ। सोही प्रकृयाको लागि कम्पनीले उक्त अनुसन्धान र परीक्षणको खाका र परीक्षण पछि प्रतिवेदन बुझाउनुपर्ने हुन्छ।

अन्य ब्राण्डको फोन कसरी आयात हुन्छन् ?

एप्पलको आईफोन बाहेक नेपालमा ६ दर्जन भन्दा बढि ब्राण्ड र कम्पनीका फोनहरु आयात र बिक्री हुने गरेका छन्। ती सबै ब्राण्ड वा कम्पनीहरुले नेपालमा आयातकर्ता वा बितरक भनेर स्थानीय कम्पनीलाई तोक्ने गर्दछन्। जसलाई आधिकारी पत्र दिईएको हुन्छ।

उदाहरणको लागि शुरुवाती चरणमा नेपालमा सामसङका फोनहरु आईएमएस नामक कम्पनीले मात्र आयात गर्ने गरेकोमा हाल गोल्छा ग्रुप अन्तरगतको अर्को कम्पनीले पनि सामसङका फोनहरु आयात गर्दै आएको छ। सामसङले आफ्नो नीतिअनुसार नै पछिल्लो समय सबै देशहरुमा दुई आयातकर्ता बनाएपछि गोल्छाले अनुमति पाएको थियो।

त्यस्तै हाल चिनियाँ ब्राण्डहरु शाओमी, ओप्पो, भिभो, लगायतका कम्पनीहरुले पनि नेपालमा उपत्यका र उपत्यका बाहिरको बजार भनेर छुट्याएर एक वा दुई कम्पनीलाई आयातकर्ताको सम्झौता गर्ने गरेका छन्।

यस विषयमा थप जानकारी लिनका लागि हामीले नेपालमा रहेका डियरवाक ग्रुपका नेपाल स्थित प्रतिनिधिलाई सम्पर्क गर्ने प्रयास गरेका छौं। थप प्रतिकृया आएमा यसमा समावेश गरिनेछ।