पुराना गाडी दिएर दीपाल EV लिँदा ३ लाख छुट र उपहार

DEEPAL

नेपालका लागि चाङ्गन तथा दीपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले सोमबारदेखि ‘दीपाल एक्स्चेन्ज कानिर्भल’ क्याम्पेन सुरु गरेको छ । काठमाडौं गैरीधारास्थित सिल्भरओकमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले एक्स्चेन्ज कार्निभलको औपचारिक घोषणा गरेको हो ।

यो क्याम्पेन सोमबारदेखि आउँदो ३ असोजसम्म चल्नेछ । एक्स्चेन्ज कार्निभल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । यस क्याम्पेन अन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडीसँग दीपाल एस ०७ ईभी साट्न सक्नेछन् । त्यस बाहेक ग्राहकले दीपाल एस ०७ र एल ०७ टेस्ट ड्राइभ पनि गर्न सक्नेछन् ।

यस अवसरमा ग्राहकले प्रि-बजेट मूल्य ६४ लाख ९९ हजार रुपैयाँमा दीपालको प्रिमियम ईभी एस ०७ खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । हाल यस गाडीको बजार मूल्य ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कार्निभल एक्स्चेन्जका लागि ग्राहकले नेपालकै शीर्ष ६ रिकन्डिसन हाउसबाट आफ्ना पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने कम्पनीको भनाई छ । कम्पनीका अनुसार एक्स्चेन्ज कार्निभलकै दौरान ग्राहकले अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र निःशुल्क एक्सेसरिज पाउनेछन् ।

जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर समेत निःशुल्क पाइने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट समेत पाउन सक्नेछन् । नेपाली बजारमा एमएडब्लू वृद्धिले दीपालका एस०७ र एल०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ ।

नेपालमै पेट्रोल-हाइड्रोजन हाइब्रिड इन्जिन बनेकोछ

nepal-made-hydrogen-petrol-hybrid-engine

पेट्रोल र हाइड्रोजन दुवै इन्धनबाट गाडी चलाउन मिल्ने इन्जिन तयार भएको छ । रिन्यु जेन रिसोर्सेस नेपाल, बेलायतको एक विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थान (त्रिवि) को सहकार्यमा यस्तो इन्जिन तयार पारिएको हो ।

सोमबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापा लगायतले यस इन्जिन प्रयोग गरिएको गाडी चढेर केही बेर यात्रा गरेका थिए । यससँगै हाइब्रिड इन्जिनको औपचारिक सुरुवात भएको बताइएको छ ।

दुई प्रकारको इन्धनबाट चल्ने भएकाले यसलाई ‘डुअल मोडल हाइड्रोजन कम्बस्चन इन्जिन’ नाम दिइएको छ । आईओई मेकानिकल तथा एरोस्पेस विभागका सह प्राध्यापक डा. सूर्यप्रसाद अधिकारीका अनुसार चालकले आफूले चाहेको समयमा गाडी चलाउने इन्धन परिवर्तन गर्न सक्छ । उनका अनुसार यसका लागि एउटा छुट्टै बटन राखिएको छ ।

यस प्रकारको इन्जिन बनाउन पुरानो मारुती सुजुकी जेनको इन्जिनलाई परिमार्जन गरिएको हो । यसमा ६० प्रतिशत पेट्रोल र ४० प्रतिशत हाइड्रोजन राखिएको हुन्छ । अहिलेका लागि भने हाइड्रोजन भारतबाट आयात गरिएको छ ।

यसले पुराना गाडीको इन्जिनलाई परिमार्जन गरेर हाइड्रोजन राखेर चलाउन सकिने कुरा स्थापित गरेको रिन्यु जेन रिसोर्सेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. प्रमोद टण्डनले बताए । यसअघि पुरानो भए पछि कि त नयाँ किन्ने अथवा बिजुली गाडीमा परिमार्जन गर्नुपर्ने भएकोमा अब नयाँ विकल्प थपिएको उनको भनाई छ ।

अहिले तयार भएको यो इन्जिन एक प्रकारको प्रोटोटाइप हो । तर यसबाट गाडीलाई गुडाउन सकिन्छ । यसले अहिलेको पेट्रोलियम इन्जिनभन्दा बढी रेन्ज दिने उनले बताए ।

उता काठमाडौं विश्वविद्यालयले देशभित्रै हाइड्रोजन उत्पादन थालिसकेको छ । तर प्राविधिक पक्षले गर्दा त्यहाँ उत्पादन भएको हाइड्रोजन आफूले तयार पारेको इन्जिनमा प्रयोग गर्न नमिल्ने उनले सुनाए । यद्यपि भविष्यमा भने आफूहरूले नै हाइड्रोजन प्लान्ट पनि बनाउने योजना रहेको  उनको भनाई छ ।

त्यस्तै आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो भएकाले अब बस र ट्रक जस्ता ठुला गाडीका लागि यस्तो इन्जिन बनाउने उनले सुनाए ।

नेपाली बजारमा आइमाको नयाँ स्कुटर:मूल्य १लाख९० हजार

cooter-techpana

नेपाली बजारमा आइमा ब्राण्डको नयाँ विद्युतीय स्कुटर सार्वजनिक भएको छ । नेपालका लागि आइमाको आधिकारिक वितरक हिमाल ईभी मोटर्स प्रालिले हालै ‘ए ७१५’ मोडेलको स्कुटर भित्र्याएको हो ।

यस स्कुटरको मूल्य दुई लाख पाँच हजार रुपैयाँ तोकिएको छ । तर, सुरुवाती चरणमा कम्पनीले यसलाई १५ हजार रुपैयाँ छुटसहित एक लाख ९० हजार रुपैयाँमा बिक्री गर्न थालेको छ ।

स्कुटरमा ७२ भोल्ट तथा ३८ एम्पियर आवरको जीएलए ग्रेफेन ब्याट्री दिइएको छ, जसको क्षमता २.७ किलोवाट हुन्छ । स्कुटरलाई छ घण्टाभित्र फुल चार्ज गर्न सकिन्छ ।

कम्पनीका अनुसार आइमा ए ७१५ ले एक पटकमा १०० देखि १२० किलोमिटरसम्म रेन्ज दिन्छ । १८०० वाटको मोटर रहेको स्कुटरलाई प्रतिघण्टा ५५ किलोमिटर स्पिडमा कुदाउन सकिने जनाइएको छ । मोटरको पिक पावर ३२०० वाटसम्मको छ ।

यसको अगाडिपट्टि १२ इन्च र पछाडिपट्टि ११ इन्चको टायर दिइएको छ ।​ ग्राउन्ड क्लियरेन्स भने १७० एमएम रहेको छ । यसले बढीमा २०० किलोसम्मको तौल धान्न सक्ने बताइएको छ । सिटमुनि ३२ लिटर क्षमताको स्टोरेज रहेको छ ।

नेपाली बजारमा सिल्भर ब्लु र ग्रे कलर अप्सनमा यो स्कुटर खरिद गर्न सकिन्छ ।

मिथ्या मान्यता चिर्ने मानक बन्यो हाम्रो जहाज!

plane

लगातारको वर्षाले काठमाडौको आकाश पखालेर निलो बनाएको थियो। मनसुन नसकिए पनि उपत्यकामा टनटलापुर घाम लागिरहेको थियो। खुलेको आकाश र घमाइलो दिनमा मेरो मन चाहिँ धुम्म बनिरहेको थियो — मनसुनी बादल आकाशमा मडारिएजस्तो।

मेरो मन दुईतिर बाँडिएको थियो — एउटा कुनै सफलतामा प्रफुल्लित भएजस्तो। अर्को केही गुमाउनुको पीडाले खिन्न बनेजस्तो।

दोधारे मन लिएर म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ। हाम्रो ह्यांगर नजिकै राखिएको थियो ‘नाइनएन-एआइएन एटिआर-४२’ जहाज।

सोह्र वर्षदेखि परिचित त्यो जहाज मेरा लागि नौलो थिएन। त्यस दिन त्यसलाई देख्दा नरमाइलो लाग्यो। मनमा कताकता ‘मैले यसलाई यही रूपमा हेर्न पाउने अन्तिम पटक हो’ भन्ने आभासले अर्कै खाले अनुभूति भयो।

मेरो मन दोधारमा पर्नुको कारण थियो — त्यसै दिनदेखि हामी त्यो एटिआर जहाजलाई ‘अवकाश’ दिएर बिदाइ गर्दै थियौं।

धेरैले त्यसअघि नेपालमा जहाजको अवकाश हुन्छ भन्ने थाहा पाएकै थिएनन् सायद। बुद्ध एयरका लागि मात्र होइन, जहाज निर्माता कम्पनी एटिआरका लागि पनि त्यो एउटा ऐतिहासिक घटना थियो। 

हामीले जहाजलाई अवकाश दिनुअघि एटिआरको इतिहासमै कुनै पनि व्यावसायिक र उड्दै गरेको यात्रुवाहक विमानले सम्पूर्ण साइकल पूरा गरेर अवकाश पाएको थिएन। उड्डयन क्षेत्रमा जहाज पुरानो हुँदैन भन्ने मान्यता छ। त्यो सही पनि हो। त्यति हुँदाहुँदै जहाजको प्रकारअनुसार निश्चित साइकल पूरा गरेपछि त्यसलाई बिदाइ गर्नुपर्ने हुन्छ।

मुख्यतः जहाजलाई ‘जेनरल’ र ‘एयरलाइनर’ भनेर वर्गीकरण गरिएको हुन्छ।

जेनरल वर्गमा ३० सिट क्षमताभन्दा तलका जहाज पर्छन्। हामीले बुद्ध एयरको सुरूआत त्यस्तै जहाजबाट गरेका थियौं। ती जहाजको ‘अनलिमिटेड लाइफ’ हुन्छ। त्यसो भन्दैमा मर्मतसम्भार नगरेर वा जहाजको कुनै ‘कम्पोनेन्ट’ फेर्नुपर्दा नफेरी उडाउन सकिन्छ भन्ने होइन। नियमित मर्मतसम्भार भइरहने हो भने त्यस्ता जहाजका लागि कुनै निश्चित समय तोकिएको छैन।

हामीले त्यो समूहमा पर्ने बिचक्राफ्ट-१९०० डीलाई २५ वर्ष र ७५ हजार साइकलभन्दा बढी उडायौं। त्यस्ता जहाजलाई हामीले क्यानडाको कम्पनीलाई २५ वर्षअघि जति मूल्यमा किनेका थियौं, त्यस्तै मूल्यमा बिक्री गर्‍यौं।

हाम्रै दृष्टान्तसमेत जेनरल एभिएसनको जीवन अनिश्चित हुन्छ भन्ने आधार दिएको छ। 

कुनै जहाज एकपटक उडेर अवतरण गरेपछि एउटा साइकल पूरा हुन्छ। त्यस्ता ७० हजार साइकल पूरा गरेपछि एटिआरको नाइनएन-एआइएन जहाजले अवकाश पाएको हो। निर्माता कम्पनीले तोकेको साइकल पूरा गर्ने क्रममा पनि हामी व्यावसायिक उडान गर्दै थियौं। सन् २००८ सेप्टेम्बर १७ तारिखबाट त्यो जहाजले व्यावसायिक उडान सुरू गरेको थियो। उसको पहिलो व्यावसायिक उडान माउन्टेन फ्लाइट थियो।

प्रायः जहाजहरू पुरानो हुँदै गएपछि त्यसलाई यात्रुवाहकबाट कार्गोमा परिवर्तन गरिन्छ। हामीले भने सेप्टेम्बर ९ तारिखसम्म त्यो जहाजलाई यात्रुवाहककै रूपमा उडायौं। सत्तरी हजार साइकल पूरा हुन थोरै बाँकी रहँदा सेप्टेम्बर १० तारिखमा त्यसले अवकाश पायो। माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरू गरेको जहाजको अन्तिम उडान पनि माउन्टेन फ्लाइट नै रह्यो। सेप्टेम्बरमा उडान सुरू गरेको त्यसले सेप्टेम्बर महिनामै’ साइकल पूरा गरेर सधैंका लागि अवतरण भयो।

त्यो जहाजले १६ वर्ष ३ दिने उडानका क्रममा १८ लाखभन्दा बढी यात्रुलाई सेवा दिएको थियो।

Retired-ATR-1726214938.jpg
बिदाइ भनेको केही आफूबाट टाढा जानु हो। त्यसले मलाई त्यस दिन एकखाले आघात पुगेको महसुस भएको थियो। अर्कोतिर एउटा जहाजले आफ्नो सम्पूर्ण आयु पूरा गरेर बिदाइ हुन पाउनु हाम्रा लागि खुसीको कुरा पनि थियो।

सन् २००८ मा हामीले इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन आइएफसीको ऋण सहयोगमा दुइटा एटिआर-४२-३२० जहाज भित्र्याएका थियौं। आइएफसीकै ऋण सहयोगमा ह्यांगर निर्माण थालेका थियौं। यो १६ वर्षमा हामी एटिआर अपरेटरहरूमा संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छौं।

नेपालमा सुरूमा निकोन एयरले एटिआर भित्र्याएको थियो। अनेक कारणले त्यो कम्पनी डुब्यो तर दोष एटिआरमाथि लाग्यो। एटिआरले बाध्य भएर आफ्नो रकम उठाउन त्यस बेला नेकोन एयरसँग भएका जहाजका पार्टपुर्जासमेत बेचेको थियो। त्यसो गर्दासमेत उसले घाटा बेहोरेको थियो। हामीले भने त्यसै किसिमका एटिआर जहाजबाट सहज एवं सुलभ भाडादरमा हवाइ सेवा दिइरहेका छौं।

अबको केही वर्षमा तीन/चार वटा एटिआर जहाजहरू त्यसै गरी अवकाशमा जानेछन्। हामीले ती जहाजलाई विस्थापित गर्दै थप जहाज भित्र्याउने योजना अघि बढाएका छौं। एटिआर जहाजलाई पूरा साइकल चलाएर अवकाश दिइएको कुराले बुद्ध एयरलाई एउटा पृथक पहिचान दिएको छ।

कुनै विमानलाई पूरा साइकल चलाएर अवकाश दिने काम बुद्ध एयरका लागि मात्र नभई एटिआरका लागि पनि गर्वको कुरो भएको छ। यो म र बुद्ध एयरसँगै समग्र नेपाली र नेपालकै गर्वको विषयसमेत हो। यसरी जहाजलाई अवकाश दिने हाम्रो कामले मुख्य चार सन्देश दिएको छ।

पहिलो कुरा जहाज पुरानो हुने सम्बन्धमा रहेका मिथ्या कुरालाई यसले चिर्ने काम गरेको छ। नेपालका विमान सेवा कम्पनीले पुराना जहाजबाट सेवा दिइरहेको आरोप लाग्ने गरेको छ। जहाज चाहिँ कहिल्यै पुरानो हुँदैन। यसका हरेक पार्टपुर्जाको साइकल तथा एक्सपायरी डेट हुन्छ। त्यसैअनुरूप जहाजलाई मर्मतसम्भार तथा नयाँ पार्टपुर्जा जडान गरेर चलाएमा त्यो पूरा साइकल चल्न सक्छ भन्ने उदाहरण हाम्रो अवकाश पाएको एटिआर जहाज भएको छ।

त्यसले जहाजको नयाँ र पुरानो मान्यता सम्बन्धी मिथ्या कुरालाई चिर्ने काम गरेको छ। कसैले ल्याएको नयाँ जहाजको पनि मापदण्ड अनुसार समयमा मर्मतसम्भार भएन भने त्यसले दुर्घटना निम्त्याउन सक्छ। नियमित रूपमा मापदण्ड अनुसार मर्मतसम्भार भएको जहाज चाहिँ पूरा साइकल चल्न सक्छ।

दोस्रो भनेको बुद्ध एयर एउटा सामर्थ्ययुक्त कम्पनी हो भन्ने उजागर हुनु हो। एटिआर विमानलाई पूरा साइकल चलाएर अवकाशमा लैजाने अवस्थामा पुग्नुले बुद्ध एयर विमानहरूको मर्मतसम्भार र उडान सञ्चालमा अब्बल छ भन्ने पुष्टि भएको छ। हाम्रो प्राविधिक र अपरेसनको टिम विकसित राष्ट्रको भन्दा कम नरहेको यसले देखायो।

बुद्ध एयरको यस्तो सामर्थ्य देखिनु भनेको देशकै लागि गर्वको कुरा हो। यसमा हामी प्रसन्न नहुने कुरा छैन। नेपालीमा निराशा छाएका बेलामा यो पनि एउटा आशाको त्यान्द्रो हो भन्ने मेरो बुझाइ छ। व्यावसायिक जीवनमा कुनै पनि विमान निर्माता कम्पनीका लागि समेत ऐतिहासिक मानिएको घटनाको साक्षी मात्र होइन, त्यसको कर्ताकै रूपमा आफूलाई उभ्याउन पाउँदा मलाई गौरव लाग्नु स्वाभाविक नै हो।

तेस्रो कुरा भनेको बुद्ध एयरको एउटा भिन्नै र पृथक पहिचान बन्नु हो। यो कामले बुद्ध एयरप्रतिको विश्वसनीयता वृद्धि गरेको छ भने ‘यो कम्पनी राम्रो हो’ भन्ने सन्देश प्रवाह भएको छ। त्यसले बुद्ध एयरलाई एउटा पृथक पहिचान स्थापित गर्न सकारात्मक भूमिका खेलेको छ। बुद्ध एयरले विश्वमा अन्य कुनै पनि वायुसेवा सञ्चालकहरूले ‘हालसम्म गर्न नसकेको काम गर्‍यो’ भन्ने सन्देशले पहिचान अभिवृद्धिमा सहयोग पुगेको छ।

चौथो कुरा भनेको बुद्ध एयर यात्रुप्रति सधैं उत्तरदायी छ भन्ने पुनर्पुष्टि हुनु हो। बुद्ध एयरलाई धेरै यात्रुले उत्तरदायी कम्पनीकै रूपमा लिन्छन्। हामीले त्यसबारे बारम्बार चर्चा गर्ने गरेका छौं। एउटा चल्दाचल्दैको जहाजलाई उसले उड्नुपर्ने साइकल उडिसकेपछि अवकाश दिने कदमले हामीमा यात्रुप्रतिको उत्तरदायित्वबोध छ भन्ने कुरालाई प्रकट गरिदिएको छ।

जहाजलाई अवकाश दिने कार्यक्रममा एटिआरको प्रतिनिधित्वसमेत गर्दै काठमाडौंस्थित फ्रान्सेली दूतावासकी नियोग उपप्रमुख इल्ला कली आफै उपस्थित भएर बुद्ध एयर र एटिआरले उत्तरदायित्वबोध गरेर यस्तो काम गरेको बताएकी थिइन्। त्यो हाम्रा लागि निकै खुसीको क्षण थियो। उनको अभिव्यक्तिले हामीलाई थप हौसला प्रदान गर्‍यो।

त्यस दिन चर्को घाममा नाइनएन-एआइएन एटिआर-४२ जहाजलाई सिनियर क्याप्टेन शोभन बस्नेतले चलाएर अघि बढाउनुभयो।

हामीले जहाज आउने बाटोको दुवैतर्फ अग्निनियन्त्रक यन्त्र राखी पानीको फोहोराले त्यसलाई बिदाइ गर्ने प्रबन्ध मिलाएका थियौं। उहाँले जहाज अघि बढाएर गुडाउँदै ल्याएपछि दुवैतर्फबाट पानीको फोहोराले त्यसलाई अन्तिम बिदाइ गरियो।

मान्छेको होस् वा मेसिनको बिदाइको क्षण नरमाइलो हुने रहेछ। जहाजलाई दुईतिरबाट पानीका फोहोराले बिदाइ गरिँदै गर्दा मेरा आँखामा पनि सायद आँसु छचल्किँदै थिए। त्यो नरमाइलो मान्नुपर्ने मात्र क्षण थिएन, एउटा सफलताको इतिहास रचिएको बेला पनि थियो। त्यसैले मैले आफैलाई सम्हालेँ र मन्द मुस्कान निकाल्ने कोसिस गरेँ ।

रेन्ज रोभरको पहिलो ईभीको लागि ४२,००० बढी रिजर्भेसन

Range_Rover_EV

अल इलेक्ट्रिक रेन्ज रोभर लगभग आउन तयार छ। ब्रान्डले यो ल्याउनु चुनौतीपूर्ण भएको स्वीकार गरेपनि, रेन्ज रोभरको पहिलो ईभी अतुलनीय क्षमता र लक्जरीको शीर्ष “ट्रु रेन्ज रोभर” हुनेछ।

रेन्ज रोभरको पहिलो ईभीले रिजर्भेसनको संख्या बढेको देख्छ जसले ४२,००० रिजर्भेसन भएको जानकारी गराएको छ।

रेन्ज रोभरले चिसो मौसम परीक्षणको क्रममा यसको पहिलो तस्वीरहरू प्रकट गरेपछि गत अप्रिलमा इलेक्ट्रिक एसयूभीको एक झलक देखाएको इलेक्ट्रेकले रिपोर्ट गरेको छ।

ब्ल्याक-आउट प्रोटोटाइप निश्चय नै एक रेन्ज रोभर भएको र यसको डिजाइन आधुनिक युगको लागि अलिकति अद्यावधिक गरिएको छ।

फेब्रुअरीमा, जगुआर ल्याण्डरोभर अर्थात जेएलआरले रेन्ज रोभर इभीले “बलियो चासो उत्पन्न गरिरहेको” दाबी गर्यो किनभने प्रतीक्षा सूची संख्या १६ हजार भन्दा माथि रहेको थियो।

हाल रेन्ज रोभरको पहिलो ईभीमा चासो बढ्दै गएको र रिजर्भेसनहरू अब ४२ हजार भन्दा बढी भएको रिपोर्टमा उल्लेख छ।

मोटरट्रेन्डकाअनुसार जेएलआरका सीओओ, लेनार्ड हुनिकले पहिलो इलेक्ट्रिक रेन्ज रोभर आफ्नो जरामा कायम रहने आश्वासन दिए। “विद्युतीय रेन्ज रोभर पहिले रेन्ज रोभर हुनुपर्छ,” हुनिकले बताए।

रेन्ज रोभरको दाबी छ कि यसको इन-हाउस प्रोपल्सन प्रणालीले ब्रान्डलाई “कम-ग्रिप भएका सतहहरूमा पहिले नै प्रख्यात प्रदर्शनलाई पार गर्न, सबै भू-भाग, सबै मौसम र सबै-सतह क्षमता सुनिश्चित गर्दै” सक्षम बनाउँछ।

रेन्ज रोभर ईभीमा ब्राण्डकै पहिलो नयाँ ट्र्याक्सन कन्ट्रोल सिस्टम पनि समावेश छ। रेंज रोभरले यस वर्षको अन्त्यमा यसको अपेक्षित डेब्यू अघि मोडेललाई चरम अवस्थामा परीक्षण गरिरहेको छ।

मर्सिडिज ईभीमा आगलागी: २१ घाइते, ७० गाडी नष्ट

Fire in Mercedes EV

पार्किङमा राखिएको विद्युतीय गाडी ‘मर्सिडिज बेन्ज ईक्यूआई सेडान’ मा आगलागी हुँदा ७० ओटा अन्य गाडी जलेर नष्ट हुनुका साथै २१ जना घाइते भएका छन् । शुक्रबार दक्षिण कोरियाको इनचिन सहरको एक अपार्टमेन्टको भूमिगत पार्किङमा राखिएको मर्सिडिजको विद्युतीय गाडीमा एक्कासी आगलागी भएको थियो ।

४० वर्षका सवारी धनीले २९ जुलाईमा उक्त कार अपार्टमेन्टमा पार्क गरेर राखेका थिए । त्यसको तीन दिनपछि अर्थात् २ अगस्टमा कारमा आगो लागेको हो । पार्किङ गरी राखिएको उक्त विद्युतीय गाडीबाट एक्कासि धुवाँको मुस्लो निस्किएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार पार्किङमा रहेको सो गाडी चार्जमा लगाइएको थिएन । धुवाँको मुस्लोसँगै गाडीमा आगो लागेको सीसीटिभी फुटेजमा देख्न सकिन्छ । त्यही विद्युतीय गाडीमा लागेको आगो वरपर रहेका अन्य गाडीमा पनि सल्किएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार त्यहाँ लागेको आगो नियन्त्रण गर्न झन्डै आठ घण्टा लागेको थियो । पार्किङमा लागेको आगो बढ्दै जाँदा अपार्टमेन्टमा रहेका २०९ जना व्यक्ति त्यहाँबाट निस्किएका थिए । खासगरी त्यहाँ बस्ने व्यक्तिहरूलाई बार्दली र भर्‍याङबाट उद्धार गरिएको थियो । यस क्रममा घाइते भएका व्यक्तिहरूलाई अस्पताल पुर्‍याइएको छ भने सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

स्थानीय पत्रिका कोरिया जोङआङ डेलीसँग कुरा गर्दै मर्सिडिज बेन्जका प्रवक्ताले भनेका छन्, “हामीले अहिलेलाई गाडीको मोडेल र ब्याट्रीको विवरण पुष्टि गर्न असमर्थ भयौं । यस घटनालाई गम्भीरतापूर्वक लिएर हामी अग्निसँग सम्बन्धित निकायसँग सहकार्य गर्नेछौं ।”

यस घटनामा प्रहरी र अग्नि विभागले अनुसन्धान थालेका छन् । विश्लेषकका अनुसार आगलागी हुनुअघि त्यो गाडी केही वस्तुमा ठोक्किएको हुनसक्छ । सम्भवतः यसले गर्दा ब्याट्रीमा क्षति भयो र ब्याट्री तात्दा गाडीमा आगो लाग्यो ।

चीनले डिजिटलाइज्ड सवारी दर्ता लाइसेन्स जारी गर्यो

digitalized vehicle

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी साधन दर्ता लाइसेन्स नीतिलाई ट्राफिक व्यवस्थापन सेवामार्फत परिष्कृत गर्न डिजिटलाइज्ड सवारीसाधन दर्ता गर्ने नीति सुरु गरेको छ।

चिनियाँ कानूनले सवारी चलाउँदा चालकले सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र दुवै बोक्नुपर्छ।

मन्त्रालयले सोमबार बेइजिङ र तियानजिनलगायतका ६० सहरमा २१ करोड ५० लाखभन्दा बढी डिजिटलाइज्ड इजाजतपत्र जारी गरेको छ।

मन्त्रालयले यसको ट्राफिक व्यवस्थापन १२१२३ प्लेटफर्ममा अटो रिप्लेसमेन्ट सब्सिडी कार्यक्रम प्रबर्द्धन गर्न अनलाइन ट्राफिक सेवाहरूमा पनि सुधार गरेको छ। यसबाट ६३ हजारभन्दा बढी चालक लाभान्वित भएका छन्।

सुधारिएको अनलाइन ट्राफिक सेवाले ४० लाखभन्दा बढी व्यक्ति र उद्यमलाई शुद्धता र सुविधा प्रदान गरेको मन्त्रालयले जनाएको छ।

हुन्डाई इन्डिया ले क्रेटा ईभीसहित चार नयाँ इलेक्ट्रिक सवारी मोडल ल्याउने योजना

हुन्डाई

हुन्डाई मोटर इन्डिया लिमिटेडले चालु आर्थिक वर्षको अन्तिम त्रैमासिकमा क्रेटा ईभी सहित भविष्यमा चार ओटा विद्युतीय सवारीका मोडलहरू लन्च गर्ने योजना बनाएको छ।

कम्पनीले भारतीय शेयर बजार नियामक सेबीमा दायर गरिएको प्रारम्भिक आईपीओ कागजातहरू अनुसार चार नयाँ इभीहरु ल्याउने योजना गरेको हो।

कम्पनीले आफ्नो विद्युतीय सवारी (ईभी) मोडेलहरूको मूल्य प्रतिस्पर्धात्मकतालाई अधिकतम बनाउन खोजिरहेको छ। यसले सेल, ब्याट्री प्याक, पावर इलेक्ट्रोनिक्स, र ड्राइभट्रेन जस्ता मुख्य भागहरूका लागि स्थानीय उत्पादन क्षमताहरू सुरक्षित गर्न र स्थानीयकृत ईभी आपूर्ति श्रृंखला निर्माणमा ध्यान केन्द्रित गर्न चाहन्छ।

रेड हेरिङ प्रोस्पेक्टस (डीआरएचपी) को मस्यौदामा, हुन्डाई मोटर इन्डिया लिमिटेड(एचएमआईएल) ले प्रत्येक मूल्य खण्डमा उपयुक्त ईभी मोडेलहरू लन्च गरेर आफ्नो इभी रणनीति क्यालिब्रेट गर्न र भारतको बजारको माग अनुरूप इभी टाइमलाइनहरू योजना बनाउन खोजेको बताएको छ।

बससेवा डटकमले हरेक टिकटबाट रु एक नीलहिरा दिने

अनलाइन बससेवा नीलहिरा

नेपालको एक मात्र अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैयाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता भएको छ।

यस सम्झौता पत्रमा नीलहिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डट कमका तर्फबाट बजार ब्यवस्थापक डेनिसजंंग थापाले हस्ताक्षर गरे।

उक्त सम्झौता बमोजिम बससेवा डटकमले कुनै पनि ब्याक्तिले काटेको टिकटबाट निल हिरा समाजलाई एक रुपैयाँका दरले प्रदान गर्नेछ।

सम्झौता अनुसार बससेवा डट कमले आफ्ना सेवाहरुका बारेमा नील हिरा समाजलाई उल्लेख गर्दै कुनै पनि ब्यक्तिले यात्रा गर्नु परेमा आफ्नो मोबाईलबाट घरमा नै बसेर टिकट काट्न सकिनेछ भने टिकट काट्दा यात्रुहरुले ईसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साईबर, मोबाईल बैकिङ्ग र ईन्टरनेट बैकिङ्गमार्फत अनलाईन टिकट काट्न सकिने छ।

अडीले मेक्सिकोमा १ अर्ब डलरको विद्युतीय सवारीसाधन परियोजना

audi

जर्मन कार निर्माता अडीले मेक्सिकोको पुएब्ला राज्यमा विद्युतीय सवारी साधन निर्माणमा एक अर्ब युरो (१.०८ बिलियन डलर) लगानी गर्ने राज्यका गभर्नरले मंगलबार बताएका छन्।

रोयटर्सकाअनुसार, यस लगानीले ५०० नयाँ रोजगारी सिर्जना गर्न नेतृत्व गर्ने पुएब्ला सरकारले एक विज्ञप्तिमा भन्यो।

अडी मेक्सिकोका कार्यकारी अध्यक्ष तारेक मशौर र पुएब्लाका गभर्नर सर्जियो सालोमनले राज्यलाई विद्युतीय सवारी साधनको हबमा परिणत गर्ने लक्ष्य राखेका छन्।

अडी मेक्सिकोले “ई-ट्रोन” वा पूर्ण रूपमा इलेक्ट्रिक उपकरणको साथ कार उत्पादनको लागि आवश्यक पूर्वाधार र उपकरणहरू स्थापना गर्न थालिसकेको विज्ञप्तिमा भनिएको छ।

कम्पनीको तथ्यांकअनुसार, फक्सवागन समूहको अडीको मेक्सिकोमा एउटा प्लान्ट सान होजे चियापाको पुएब्ला सहरमा रहेको छ, जहाँ हाल यसमा ५,००० कर्मचारी रहेका छन्।