‘चिहानकी परी’ का सर्जक शिरिष खड्कालाई किन लाग्यो आफ्नै गीतमाथि कपिराइट ?

काठमाडौं । ‘चिहानकी परी’, ‘बज्र’ जस्ता चर्चित गीतका सर्जक शिरिष खड्कालाई आफ्नै सिर्जनामा कपिराइट क्लेम लागेको छ । आफ्नो आधिकारिक युट्युब च्यानलमा यी गीत राखेका खड्कालाई ‘अडियाम’ (लेबल)ले कपिराइट लगाएको हो ।

गीत नै हट्नेगरी कपिराइट लागेको नभइ ती गीतको स्रष्टामा अडियाम (लेबल)ले दाबी गरेको बुझिएको छ । यसको अर्थ ती गीत खड्काको नभई अडियामको भन्ने बुझिन्छ । यो कसरी भयो भन्नेमा आफूलाई केही थाहा नभएको खड्काले टेकपानालाई सुनाए ।

उनले केही दिन पहिले मात्र आफूले यी गीतमा कपिराइट क्लेम भएको चाल पाएका थिए । यसबारे उनलाई युट्युबबाट मेल आएको थिएन । क्रियटर स्टुडिओमा गएर कन्टेन्ट वनर (मालिक)मा हेर्दा अरूकै नाम देखेपछि मात्र यसबारे थाहा पाए ।  

अडियाम डिजिटल संगीत रोयल्टी सङ्कलन गर्ने अमेरिकी एजेन्सी हो । यसले डिजिटल रोयल्टी ट्र्याक गर्ने र सर्जकहरूलाई रोयल्टी वितरण गर्ने गर्छ । कपिराइट सम्बन्धी काम गर्दै आएका एक जानकारले सर्जक खड्काका गीतहरूको प्रतिलिपि अधिकार कसैले अडियामलाई दिएको हुनसक्ने आशंका गरे । 

ती जानकारका अनुसार कलाकार तथा रेकर्ड लेबलले अन्तर्राष्ट्रिय रोयल्टी उठाउन अडियाम जस्तो एजेन्सीलाई गीतको अधिकार दिन सक्छन् । त्यसो हुँदा सम्पूर्ण डिजिटल प्लेटफर्ममा जोकसैले उक्त गीत अपलोड गरेता पनि कन्टेन्ट वनरमा त्यो कम्पनीको नाम देखिन्छ । 

“यति त्यसो नभए अडियामलाई नै पूरै गीतको अधिकार पनि बेचेको हुनसक्छ । त्यसो गर्ने अधिकार कलाकार तथा रेकर्ड लेबलसँग मात्र हुने भएकाले यतैबाट कमजोरी भएको हुनुपर्छ,” उनले भने । 



 

सर्जक खड्काले भने यी विषयमा आफूलाई केही जानकारी नभएको बताएका छन् । यी गीत उनको ‘चिहानकी परी’ एल्बममा समावेश छन् । जुन एल्बम ‘रियाज म्युजिक’ नामक कम्पनीले उत्पादन गरेको थियो । त्यस कम्पनीले सन् २००८ तिर गीत रेकर्ड गरी २००९ मा म्युजिक भिडिओ बनाएको थियो ।

त्यसबेला रियाज म्युजिकले एल्बममा संलग्न गीतलाई अधिकतम पाँच वर्षसम्म प्रयोग गर्न पाउनेगरी सम्झौता भएको खड्का सुनाउँछन् । तर रियाज म्युजिकले उनको ‘चिहानकी परी’, ‘बज्र’ गीतलाई गत वर्षमात्रै आफ्नो युट्युब च्यानलमा राखेको छ ।

“मेरो गीतको एल्बम प्रोड्युस गरेँ भन्दैमा सधैंभर प्रयोग गर्न पाउँदैन,” खड्काले भने, “अहिले रियाज म्युजिकको सञ्चालक पनि परिवर्तन भएका छन् । म यसबारे कुरा गर्छु ।” 

यो समाचार तयार पार्दासम्म खड्काको आधिकारिक युट्युब च्यानल (Shirish Khadka Official)मा जम्मा ७९१ सब्सक्राइबर मात्र छन् । जसमा ‘चिहानकी परी’मा ९९० र ‘बज्र’मा तीन हजार ८०० मात्र भ्युज आएको छ । 

तर गैरकानुनी तरिकाले अरु व्यक्तिहरूले युट्युबमा राखेको उनको गीतमा कयौं गुणा बढी भ्युज आएका छन् । ‘चिहानकी परी’ गीतमा बब्बाल मज्जाको (babbaalmazzako) मा साढे ५५ लाख, भिडिओफाई (videofy)मा पाँच लाख १२ हजार, रियाज म्युजिक (reeyaz musc)मा दुई लाख ६५ बढी भ्युज आएको छ ।

यी त प्रतिनिधि उदाहरण हुन् । अरूले राखेका भिडिओबाट खड्कालाई भने कुनै पनि फाइदा छैन ।

एक पटक यी गीत हटाउन युट्युबलाई मेल गरे पनि केही नभएको उनी सुनाउँछन् । “गीतसँग सम्बन्धित एल्बम कभर, समाचार सबै पठाएर ती गीत मेरा हुन् भनेर मेल गरेको थिएँ,” उनले भने, “तर मेरो सब्सक्राइबर थोरै देखेर होला युट्युबले मेरो कुरा मानेन ।”

कपिराइट सम्बन्धी जानकारका अनुसार खड्काले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयबाट आफ्नो सिर्जनाको प्रतिलिपि अधिकार लिएर सम्बन्धित प्लेटफर्महरू (युट्युब, स्पोटिफाई)मा मेल गर्न सक्छन् । यसो गर्दा गैरकानुनी तरिकाले अपलोड भएका सबै गीत हट्ने अथवा त्यसमा सर्जक खड्काको कपिराइट क्लेम आउने उनले सुनाए ।

पछिल्लो अध्यावधिक: भदौ २८, २०८१ १४:५२