
प्राध्यापक डा. सुदन झा विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं एआई विज्ञ डा. सुदन झा विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा परेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्ग्स, डिप लर्निङलगायत क्षेत्रमा पुर्याएको योगदानका आधारमा स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियर (Elsevier)ले तयार पारेको सूची (𝐖𝐨𝐫𝐥𝐝’𝐬 𝐓𝐨𝐩 𝟐% 𝐒𝐜𝐢𝐞𝐧𝐭𝐢𝐬𝐭𝐬 𝐟𝐨𝐫 𝟐𝟎𝟐𝟓) मा उनी सूचीकृत भएका हुन् ।
विश्वव्यापी रूपमा विश्वसनीय मानिने यो सूची अनुसन्धान प्रकाशनको गुणस्तर, साइटेसन संख्या, एच-इन्डेक्स र एचएम इन्डेक्स जस्ता सूचकांक, सह-लेखकत्व, पहिलो लेखकत्व वा अन्तिम लेखकत्वमा गरिएका योगदान, समग्र अनुसन्धान प्रभाव (सी-स्कोर) लगायतका मूल्यांकनमा आधारित हुन्छ ।
स्ट्यानफोर्ड विश्वविद्यालयले एल्सेभियरको विशाल डेटाबेसमा आधारित भएर यी सूचकहरूलाई मापन गर्छ । यो सूचीमा पर्नु भनेको उक्त वैज्ञानिकको कामलाई विश्वभरका अन्य वैज्ञानिकहरूले बारम्बार साइटेसन गरेको, प्रभावशाली मानेको र निरन्तर प्रयोगमा ल्याएको प्रमाणित हुनु हो । यसैले यो मान्यता कुनै पनि अनुसन्धानकर्ताका लागि ठुलो अन्तर्राष्ट्रिय उपलब्धि हो ।
डा. झा विगत २३ वर्षदेखि अध्यापन, अनुसन्धान र उद्योग क्षेत्रमा सक्रिय छन् । उनले १०० भन्दा बढी अनुसन्धानपत्र प्रकाशित गरेका छन् भने १० पुस्तक लेखेका वा सम्पादन गरेका छन् ।
उनका नाममा तीन पेटेन्ट दर्ता छन् । उनी काठमाडौँ विश्वविद्यालयमा प्राध्यापकसँगै केयू आईटी सेन्टरका निर्देशक र आईओटी आर एन्ड डी ल्याबका प्रमुख अनुसन्धानकर्ताको जिम्मेवारीमा छन् ।
अन्तर्राष्ट्रिय स्तरमा पनि सक्रिय रहेका डा. झा आईईईईका वरिष्ठ सदस्य, विभिन्न अन्तर्राष्ट्रिय पत्रिकाका सम्पादक र समीक्षक छन् । हालसम्म उनले १०० बढी अन्तर्राष्ट्रिय कीनोट स्पिच दिइसकेका छन् ।
डा. झाका मुख्य अनुसन्धान क्षेत्रहरूमा आईओटी, एआई, डिप लर्निङ, न्यूट्रोसोफिक प्रिन्सिपल, स्मार्ट गभर्नेन्स, फाइभजी प्रविधि लगायत छन् । उनका अनुसन्धानहरू धेरैजसो नेपाली सन्दर्भलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने किसिमका छन् । यसअन्तर्गत स्मार्ट सिटी र स्मार्ट हेल्थ सिस्टममा आईओटीको प्रयोग, नेचुरल ल्याङ्ग्वेज टेक्नोलोजी (नेपाली एलएलपी), आपतकालीन सेवामा डिप लर्निङ आधारित समाधान, मोबाइल नेटवर्कमा गुणस्तर सुधार सम्बन्धी आविष्कार सहितका अनुसन्धान छन् ।
उनी नेपाल सरकारले हालै ल्याएको राष्ट्रिय एआई नीतिका विज्ञ सल्लाहकारसमेत हुन् । यसअघि नेपाल टेलिभिजनको प्राविधिक निर्देशक र नेपाल दूरसञ्चार प्राधिकरणका सल्लाहकार भएर पनि उनले काम गरेका थिए ।
शीर्ष २% वैज्ञानिकको सूचीमा परेपछि टेकपानालाई प्रतिक्रिया दिँदै डा. झाले भने, “यो उपलब्धि व्यक्तिगत मात्र होइन, मेरो टिम, विद्यार्थी, संस्था र परिवारको साझा उपलब्धि हो । नेपालमै रहेर अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान सम्भव छ भन्ने कुरा यसले प्रमाणित गरेको छ ।”
उनको दीर्घकालीन रूपमा नेपालमै विश्वस्तरीय अनुसन्धान केन्द्र विकास गर्ने र एआई तथा नयाँ प्रविधि क्षेत्रमा नेपाललाई अग्रणी बनाउन योगदान गर्ने लक्ष्य राखेका छन् ।
पछिल्लो अध्यावधिक: असोज ६, २०८२ १४:५९