चिनियाँ अटो निर्माता बीवाईडीबाट १७ वर्षपछि पूर्ण रूपमा बाहिरियो वारेन बफेटको बर्कशायर ह्याथवे
IT

चिनियाँ अटो निर्माता बीवाईडीबाट १७ वर्षपछि पूर्ण रूपमा बाहिरियो वारेन बफेटको बर्कशायर ह्याथवे

Sep 22, 2025

काठमाडौँ । वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेले चिनियाँ अटो निर्माता बीवाईडीबाट आफ्नो लगानी पूर्ण रूपमा फिर्ता लिएको छ । एक फाइलिङ अनुसार यो १७ वर्ष लामो लगानी अवधिमा कम्पनीको मूल्य २० गुणाभन्दा धेरैले बढेको थियो ।

बर्कशायरको ऊर्जा सहायक कम्पनीले गरेको फाइलिङमा मार्चको अन्त्यसम्ममा बीवाईडीमा रहेको उसको लगानीको मूल्य शून्य देखाइएको छ, जुन २०२४ को अन्त्यमा ४१ करोड ५० लाख अमेरिकी डलर रहेको थियो ।

बफेटको कम्पनीले सन् २००८ मा शेन्जेनमा आधारित बीवाईडीमा लगानी सुरु गरेको थियो । त्यस बेला कम्पनीले २३ करोड अमेरिकी डलरमा लगभग २२ करोड ५० लाख शेयर खरिद गरेको थियो । जुन त्यति बेलाको १० प्रतिशत हिस्सा बराबर थियो ।

बीवाईडीको शेयर मूल्य २० गुणाभन्दा बढीले बढेपछि बर्कशायरले सन् २०२२ मा ती शेयरहरू बेच्न थालेको थियो । यस विषयमा बीवाईडीको ब्रान्डिङ र जनसम्पर्कका महाप्रबन्धक ली युनफेईले आफ्नो आधिकारिक वइबो अकाउन्टमा एक पोस्टमार्फत बर्कशायरलाई ‘विगत १७ वर्षको लगानी, सहयोग र साथ’ का लागि धन्यवाद दिएका छन् । उनले यो शेयर बिक्रीलाई ‘सामान्य’ स्टक लगानी व्यापारको रूपमा चर्चा गरेका छन् ।

अमेरिकी अटो निर्माता टेस्लाको सबैभन्दा ठुलो प्रतिस्पर्धी मानिने बीवाईडीले साढे तीन वर्षमा पहिलो पटक त्रैमासिक नाफामा गिरावट भोगेको छ । यो गिरावट मूल्य युद्धविरुद्ध सरकारी अभियान चलिरहेको बेला कम्पनीको विस्तारमा धक्का पुगेको समयमा आएको हो ।

कम्पनीको विश्वव्यापी ढुवानीको लगभग ८० प्रतिशत हिस्सा ओगट्ने घरेलु बिक्री अगस्टमा लगातार चौथो महिना पनि घट्यो । यसै कारण बीवाईडीले आफ्नो वार्षिक बिक्री लक्ष्य १६ प्रतिशतसम्म घटाएर ४६ लाख सवारी साधनमा झारेको छ ।

बर्कशायरले सोमबार यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिको छैन । सीएनबीसीले आइतबार पहिलो पटक बर्कशायर आफ्नो हिस्सेदारीबाट बाहिरिएको समाचार प्रकाशित गरेको थियो ।

 

पछिल्लो अध्यावधिक: असोज ६, २०८२ २०:२०




Leave a Reply

Your email address will not be published. Required fields are marked *