स्वः घोषणामा भन्सार मूल्याङ्कन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली विराटनगर नाकाबाट सुरु
IT

स्वः घोषणामा भन्सार मूल्याङ्कन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली विराटनगर नाकाबाट सुरु

Sep 25, 2025

काठमाडौँ । नेपालमै पहिलो पटक विराटनगर नाकाबाट स्वः घोषणाको आधारमा भन्सार मूल्याङ्कन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली सञ्चालनमा आएको छ । अर्थमन्त्री रामश्वर खनालले बुधबारदेखि यो प्रणालीको सुरुवात भएको जानकारी दिएका हुन् ।

“नैतिक आचरणको पालना र भ्रष्ट आचरणको अन्त्य गर्ने जेनजीको माग सार्वजनिक निकायका लागि मात्र होइन, निजी, सामुदायिक र सहकारी क्षेत्रको लागि पनि हो,” यस विषयमा जानकारी दिँदै उनले भनेका छन् ।

विराटनगरमा यो सन्देश सशक्त भाषामा निजी क्षेत्रका प्रतिनिधिमूलक निकायहरू र व्यवसायीहरूलाई दिएको अर्थमन्त्रीको भनाई छ । “यस सन्दर्भमा भन्सार प्रशासनको इतिहासमा पहिलो पटक स्वयम् घोषणाको आधारमा भन्सार मूल्याङ्कन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली विराटनगर नाकाबाट प्रारम्भ गरिएको छ,” उनले भने ।

अर्थमन्त्री खनालका अनुसार यसले व्यापारको लागत घटाउने छ, अवाञ्छित लेनदेन शून्य पार्ने छ, व्यवसायीलाई इमान्दार हुन सहयोग गर्ने छ । विराटनगर नाकामा लागु भएको यो प्रणाली सफल पार्न व्यवसायीको सहयोग भएमा निकट भविष्यमा यो प्रणाली सबै भन्सारमा लागु हुने उनले बताए ।

यो प्रणालीमा राजस्व चुहावट जोखिम नियन्त्रण गर्न ‘विद्युतीय रिस्क इन्जिन’ सञ्चालन हुने छ र शङ्का लागेका कारोबार व्यवसायीको गन्तव्यमै पुगेर छानबिन गर्न सकिने भएकाले यसबाट राजमार्गमा ट्रक रोकेर दुख दिने काम बन्द हुनेछ ।

 

पछिल्लो अध्यावधिक: असोज ९, २०८२ ८:४७




Leave a Reply

Your email address will not be published. Required fields are marked *