जेनजी आन्दोलनमा नकाबधारीहरूको बैठक भन्दै भाइरल भएको भिडिओको वास्तविकता के हो ?
IT

जेनजी आन्दोलनमा नकाबधारीहरूको बैठक भन्दै भाइरल भएको भिडिओको वास्तविकता के हो ?

Sep 25, 2025

काठमाडौँ । बुधबारदेखि सामाजिक सञ्जालमा मास्क र चस्मा लगाएका केही व्यक्तिहरू बैठक हलमा बसेको भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओलाई सामाजिक सञ्जालमा बालेनले राति राति बैठक गरे तथा जेनजी आन्दोलनमा नकाबधारीहरूको सक्रियता बढ्यो भन्ने दाबीसहित भाइरल गराइएको छ ।

तर टेकपानाले तथ्यजाँच गर्दा उक्त भिडिओ हालको नभइ सात महिना पहिलेको रहेको पाइएको छ । गत फ्रेब्रुअरीमा  भारतको ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि केआईआईटी विश्वविद्यालयले दुर्व्यवहार गर्दै निकालेर नेपाल आइपुगेका विद्यार्थीहरूले आफ्नो पहिचान गोप्य राखेर दिइएको अन्तर्वार्तालाई हालको भन्दै भाइरल गराइएको हो । 

दाबी 

सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता ‘प्रकाश तुम्बापो लिम्बु’ ले बालेनले राति गोप्य वार्ता गरेको भिडिओ भन्दै राखेको पोस्ट फेला पर्‍यो । उक्त भिडिओमा मास्क र चस्मा लगाएका विभिन्न व्यक्तिहरू देख्न सकिन्छ । भिडिओमा सस्पेन्स खालको अडिओ प्रयोग गरिएको छ । २२ सेकेन्ड लामो उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “किन गोप्य मिटिङ गरे बालेन्द्र साहाले त्यो पनि राती राती” । यो सामाग्री तयार पार्दा सम्म उक्त भिडिओलाई २४ हजार पटक भन्दा धेरै लाइक र २४ पटक शेयर गरिएको छ । हेर्नुहोस् भिडिओ, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान 

‘प्रकाश तुम्बापो लिम्बु’ले सार्वजनिक गरेको उक्त भिडिओ पाइएपछि हामीले तथ्यजाँच अघि बढायौँ । यसक्रममा हामीले बालेनले राति राति बैठक गरेको दाबी सहितका अन्य पोस्टहरू पनि फेला पार्‍यौँ । 

एमाले नेता महेश बस्नेतले बिहीबार मध्यान्ह १२:५६ मा सोही मास्क र चस्मा लगाएका व्यक्तिहरूको ३३ सेकेन्ड लामो भिडिओ फेसबुकमा राखेका छन् । त्यहाँ केही व्यक्तिहरू बोलिरहेको आवाज सुनिन्छ । बस्नेतले उक्त भिडिओको क्याप्सनमा लेखेका छन्, “Gen-Z आन्दोलनमा व्यापक हिंसा र तोडफोड भएको छ। अज्ञात र बाहिरबाट प्रवेश गरिएका समूहले आन्दोलन हाइज्याक गरेको छ। नकाबधारी र परिचय नखुलेका व्यक्तिहरूको सक्रियता सामान्य कुरा होइन ।” हेर्नुहोस्, एमाले नेता बस्नेतले राखेको भिडिओअर्काइभ लिङ्क र स्क्रिनशट । 

सामाजिक सञ्जाल प्रयोगकर्ता ‘Ramila Nepal’ ले बिहीबार बिहान ८:०३ मा जेनजी आन्दोलनमा प्रयोग भएका नकाबधारी को हुन् भन्ने प्रश्न गर्दै सार्वजनिक गरेको भिडिओ फेला पर्‍यो । उनले लेखेकी छिन्, “के हो एस्तो?? सत्य तथ्य  पत्ता लगाई छानबिन  हुनुपर्यो । को हुन्  उनीहरु?? jenz को आन्दोलनमा यस्ता नकापधारिहरु परिचालन भएको रहेछ !” हेर्नुहोस् पोस्ट र स्क्रिनसट । 

सोही दाबि सहित राखिएका अन्य भिडिओहरू हेर्न यहाँ, यहाँ, यहाँ, यहाँ यहाँ, यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

हामीले अनुसन्धानका लागि सबैभन्दा पहिला उक्त भिडिओलाई नियालेर हेर्यौँ । त्यहाँ मास्क लगाएर बसेका व्यक्तिहरूभन्दा अगाडीको टेबलमा दुईवटा बुम राखिएको छ । त्यसैले उनीहरू केही अन्तर्वार्ता दिइरहेको देखिन्छ । हामीले इन्भिडको म्याग्निफायर प्रयोग गरेर उक्त बुम कुन मिडियाको हो भनेर खोज्ने प्रयास गर्‍यौँ ।

 

 त्यहाँ उनीहरूले हिमालय टिभि र प्राइम एचडी टिभिको बुम रहेको देखियो । यसले यो कुनै गोप्य वार्ता नभइ अन्तर्वार्ता रहेको पुष्टि भयो । तर हामीले इन्टरनेटमा प्राइम एचडी टिभि र हिमालय टिभिले उक्त अन्तर्वार्ताको बारेमा फेला पार्न सकेनौँ । 

उक्त भिडिओको वास्तविकता खोज्दै जाने क्रममा ‘हामी नेपाल’ ले २० फेब्रुअरीको दिउँसो ४ बजे राखेको २६ मिनेट राखेको भिडिओ फेला पर्‍यो । उक्त भिडिओमा भाइरल भिडिओमा देखिएका व्यक्तिहरू नै मास्क र चस्मामा देखिएका छन् । हामी नेपालले राखेको फेसबुक स्टाटसको नेपाली अनुवाद यस्तो छ “हाम्रा विद्यार्थीहरूलाई यसरी कुटपिट गरिएको थियो । केही विद्यार्थीहरू हाम्रो कार्यालयमा आइपुग्नु भयो र आफ्नो सुरक्षाकारणले पहिचान नखुलाई अन्तर्वार्ता दिने निर्णय गर्नुभयो । विद्यार्थीहरूबाट प्राप्त तथ्य अनुसार खासमा यस्तो भएको थियो…।”

उक्त भिडिओ आत्महत्याको विषयमा लिएर सुरु भएको छ । भिडिओको सुरुवातमा मास्क लगाएका एक युवकले भनर्का छन्, “चार वा साँढे चार बजेतिर सायद सुसाइडको केस भयो । सुसाइड गरेको दिदीको दाइहरूले थाहा पाएर पुलिसमा कम्प्लेन गर्नुभएछ ।” हेर्नुहोस् भिडिओ । 

उक्त भिडिओलाई हाल भाइरल भिडिओसँग दाँजेर हेर्दा यी दुई भिडिओ एउटै रहेको समेत पाइयो । 

 

हामी नेपालले राखेको भिडिओमा १६ फेब्रुअरीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको भारतको ओडिसास्थित केआईआईटी कलेजमा आत्महत्या पछि भएको अवस्थाको वर्णन गरिएको छ । लम्सालको मृत्यु भएपछि उक्त विश्वविद्यालयबाट नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गर्दै विश्वविद्यालय निकालि दिएको थियो । यो घटनापछि नेपाल आइपुगेका केही विद्यार्थीले आफ्नो सुरक्षा जोखिममा पर्न सक्ने भनेर मास्क लगाएर अन्तर्वार्ता दिएर केआईआईटीमा भएका घटनाको विस्तृतमा जानकारी दिएका थिए । उक्त भिडिओलाई हाल जेनजी आन्दोलन र बालेनसँग जोडेर भाइरल बनाइएको छ ।

दाबी 

  • बालेनले राति गोप्य बैठक गरे ।

  • जेनजी आन्दोलनमा ‘नकाबधारी बाहिरी तत्व’ छिरे ।

दाबीकर्ता 

‘प्रकाश तुम्बापो लिम्बु’, ‘महेश बस्नेत’, ‘रमिला नेपाल’ लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

  • भाइरल भिडिओ हालको नभइ सात महिना पुरानो हो । भारतको ओडिसामा प्रकृति लम्सालको मृत्यु पछि निकालिएका विद्यार्थीहरूले आफ्नो सुरक्षाका लागि भन्दै मास्क र चस्मा लगाएर अन्तर्वार्ता दिएका थिए ।

  • विद्यार्थीहरूले भिडिओमा केआईआईटीमा भएको कुटपिट, दुर्व्यवहार र अन्यायको बारेमा विस्तृत रूपमा बताएका छन् ।

  • उक्त अन्तर्वार्ता ‘हामी नेपाल’ नामक फेसबुक पेजमार्फत २० फेब्रुअरी २०२५ मा सार्वजनिक गरिएको छ । 

  • भिडिओमा देखिएका व्यक्तिहरू केआईआईटी विश्वविद्यालयबाट निकालिएर नेपाल फर्किएका नेपाली विद्यार्थीहरू हुन् ।

  • भिडिओमा हिमालय टिभि र प्राइम टिभि एचडीका बुम पनि देखिन्छः ।

निष्कर्ष

बुधबारदेखि सामाजिक सञ्जालमा “बालेनले राति राति गोप्य बैठक गरे”, “जेनजी आन्दोलनमा ‘नकाबधारी बाहिरी तत्व छिरे लगायतका दाबी सहित सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएका छन् । उक्त दाबी गर्नेमा नेकपा एमाले नेता महेश बस्नेतसहित प्रकाश तुम्बापो लिम्बु, रमिला नेपाल लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । उक्त भिडिओलाई लिएर टेकपानाले तथ्यजाँच गर्दा उक्त भिडिओ सात महिना पहिलाको रहेको पाइएको छ । 

भारतको ओडिसास्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु पछि निकालिएका विद्यार्थीहरूले आफ्नो सुरक्षाका लागि भन्दै मास्क र चस्मा लगाएर अन्तर्वार्ता दिएका थिए । विद्यार्थीहरूले भिडिओमा केआईआईटीमा भएको कुटपिट, दुर्व्यवहार र अन्यायको बारेमा विस्तृत रूपमा बताएका छन् । ‘हामी नेपाल’बाट २० फेब्रुअरीमा सार्वजनिक भएको उक्त भिडिओलाई जेनजी आन्दोलन र बालेनसँग जोड्दै भ्रम फैलाइएको हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८२ १६:१३




Leave a Reply

Your email address will not be published. Required fields are marked *