चाडबाडमा कस्ता अफर ल्याउँदै छन् टेलिकम र इन्टरनेट सेवा प्रदायक ?
IT

चाडबाडमा कस्ता अफर ल्याउँदै छन् टेलिकम र इन्टरनेट सेवा प्रदायक ?

Sep 25, 2025

काठमाडौँ । टेलिकम कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरूले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै अफर सार्वजनिक गरेका छन् । टेलिकम कम्पनीले सस्तो मूल्यका प्याकेज ल्याउँदा इन्टरनेट सेवा प्रदायकहरूले भने गाडी जित्नेदेखि विदेश भ्रमण जित्न सक्ने अफर ल्याएका छन् । साथै टिभी, स्मार्टफोनदेखि इलेक्ट्रोनिक्स उपकरण खरिद गर्दा छुटसहितको अफर ल्याएका छन् । 

दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले दशैं-तिहार-छठ अफर २०८२ ल्याएको छ । टेलिकमले एफटीटीएच प्याकेज जडानमा छुटसहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डेटा प्याकेज सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत ६ देखि ३१ असोजसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई पाँच सय रुपैयाँ जडान शुल्क छुट दिइएको छ । यसैगरी दशैं-तिहार-छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिबल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिबल अनलिमिटेड प्रिमियम डेटा प्याकेज उपलब्ध गराइएको छ । 

फेस्टिबल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy (FUP) मा तोकिएको ५ जीबी डेटा खपत भइसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिबल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy मा तोकिएको १० जीबी डेटा प्रयोग भइसकेपछि बाँकी समयावधि तीन एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेगरी टेलिकमले अफर ल्याएको छ ।

साथै २५० रुपैयाँमा १००० मिनेट अल-नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेट्स र ९९ रुपैयाँमा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याएको छ । यी सबै प्याकेजमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ । 

जीएसएम सेवाका प्याकेजहरू ६ देखि २० असोजसम्म र १ देखि १० कात्तिकसम्म खरिद गर्ने ग्राहकका लागि लागु हुने टेलिकमले जनाएको छ । 

एनसेलले चाडपर्वका लागि भनेर छुट्टै फरक अफर भने ल्याएको छैन । एनसेल एपमा ५९९ रुपैयाँमा २८ दिनको भ्यालिडिटी भएको अनलिमिटेड डेटा प्याकलाई दशैं अफर भनेर राखिएको छ ।

आईएसपीहरूको कस्ता छन् चाडपर्व अफर?

देशभर सबैभन्दा धेरै ग्राहक संख्या बनाएको वर्ल्डलिंकले दशैँ अफर ल्याएको छ । वर्ल्डलिंकले बम्पर अफर भन्दै डीपल एस०५ गाडी जित्न सक्ने मौका भन्दै अफर सार्वजनिक गरेको छ । 

वर्ल्डलिंकले मोबाइल वालेट खल्तीसँगको सहकार्यमा यो अफर ल्याएको हो । ‘घुमेर आम् माया’ दशैँ अफरअन्तर्गत डीपल एस०५ जित्न सकिन्छ । कम्पनीका अनुसार १२ जोडीलाई विदेशी भ्रमण र सामसङका सामानमा ४० प्रतिशतसम्म छुट पाइनेछ । १२ जोडीले पाँच ओटा देशहरू थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, युएई (दुबई) र भियतनाम घुम्ने अवसर पाउनेछन् ।

अफरमा भाग लिन वर्ल्डलिंक ग्राहकले इन्टरनेटको बिल खल्ती एपबाट तिर्नुपर्छ । एक महिनाको बिल भुक्तानी गर्दा एउटा कुपन कोड, तीन महिनाकोमा दुई ओटा र १२ महिनाकोमा पाँच ओटा कुपन कोड पाइनेछ । 

उक्त कुपन कोड खल्तीबाट बिल भुक्तानी गर्दा सोही एपमा र वर्ल्डलिंकको शाखाबाट भुक्तानी गर्दा मोबाइलमा एसएमएसबाट आउने कम्पनीले जनाएको छ । यी दुई विकल्पबाट भुक्तानी गर्दा मात्रै दशैँ अफरमा सहभागी हुन पाइन्छ । 

वर्ल्डलिंकको प्याकेज नवीकरण गर्नेवित्तिकै प्रयोगकर्ताले सामसङका तोकिएका सामग्री खरिदमा ४० प्रतिशतसम्म छुट पाइनेछ । त्यसका लागि भौचर कोड लिनुपर्नेछ ।  

त्यसैगरी, अर्को इन्टरनेट सेवा प्रदायक सुबिसुले ‘दशैं तिहारको उमङ्ग सुबिसु इन्टरनेट सँग’ अफर ल्याएको छ । जसअन्तर्गत सुबिसु ग्राहकले मात्र ‘Daewoo Smart TV’ मा बम्पर छुट पाउनेछन् । 

सुबिसुले उक्त कम्पनीको ३२ इन्चको टिभी १८ हजार ७२० रुपैयाँ र ४३ इन्चको २८ हजार ८०० रुपैयाँमा उपलब्ध गराउनेछ । यसका साथै, सुबिसुले तीन महिनाको क्लियर टिभी सब्स्क्रिप्सन नि:शुल्क दिने छ ।

त्यसैगरी, अर्को इन्टरनेट सेवा प्रदायक भायानेटले पनि नयाँ र पुराना दुवै ग्राहकलाई चाडपर्व लक्षित ‘भायानेट महामहोत्सव’ अफर ल्याएको छ । प्याकेज नवीकरण वा नयाँ जडान गर्नेलाई भायानेटले १०० एमबीपीएस इन्टरनेट करसहित वार्षिक ८ हजार ५०० रुपैयाँमा उपलब्ध गराउने भएको छ । साथै १ महिना निःशुल्क इन्टरनेट उपलब्ध हुने भायानेटले जनाएको छ ।

कम्पनीले मेश राउटर २५ सय रुपैयाँमा दिनेछ । जेडटीई नुबिया ए३६ स्मार्टफोन ८ हजार २९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । यसका साथै ४३ इन्चको हिमस्टार स्मार्ट टिभी २८ हजार रुपैयाँमा दिनेछ । मोबाइल वालेट इसेवाबाट भायानेटको इन्टरनेटको वार्षिक बिल भुक्तानी गर्दा तुरुन्तै ३०० रुपैयाँ क्यासब्याक पाइनेछ । ‘स्पिन द ह्वील’ मार्फत १२ महिनासम्मको इन्टरनेट नि:शुल्क जित्ने पनि मौका छ । 

त्यसैगरी, अर्को इन्टरनेट कम्पनी डिशहोमले पनि दशैं-तिहार विशेष अफर ल्याएको छ । कम्पनीले एक वर्ष इन्टरनेट नयाँ जोड्ने र नवीकरण गराउने दुवै ग्राहकलाई थप तीन महिना नि:शुल्क बोनस इन्टरनेट दिइरहेको छ । 

त्यस्तै, सिजी नेटले पनि दशैं अफर ल्याएको छ । कम्पनीले प्याकेज नवीकरण वा नयाँ सब्स्क्रिपसन लिँदा स्योरसट उपहार दिइरहेको छ । २५० र ३५० एमबीपीएस प्याकेज लिनेलाई मिक्सर ग्राइन्डर उपलब्ध गराउँदैछ । १५० एमबीपीएस लिनेलाई टोस्टर दिँदैछ । यी दुवैमा थप एक महिना नि:शुल्क इन्टरनेट पाइनेछ । यसका साथै, ती दुवै प्याकेज नलिने १५०/२५०/३५० एमबीपीएस ग्राहकलाई तीन महिनाको बोनस सिजी नेटले दिइरहेको छ। 

प्रोमोकोड ‘CG250’ हालेर मोबाइल वालेट इसेवाबाट बिल भुक्तानी गर्नेले अधिकतम २५० रुपैयाँ वा पाँच प्रतिशत क्यासब्याक पाउने छन् ।

अन्य सेवाप्रदायकले पनि चाडबाडको समयमा ग्राहक लोभ्याउने खालका अफर ल्याउन थालेका छन् ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८२ १७:५८




Leave a Reply

Your email address will not be published. Required fields are marked *