यी ठाउँमा मोबाइल चार्ज गर्नुहुन्छ ? होसियार ! ह्याकरले चोर्दैछन् तपाईँको डेटा
IT

यी ठाउँमा मोबाइल चार्ज गर्नुहुन्छ ? होसियार ! ह्याकरले चोर्दैछन् तपाईँको डेटा

Jul 31, 2025

काठमाडौँ । हामीमध्ये धेरैलाई यात्रा गर्दा वा सार्वजनिक स्थानमा हुँदा मोबाइलको ब्याट्री सकिएर समस्या पर्छ । यस्तो बेला बसपार्क, विमानस्थल, अस्पताल, शपिङ मल वा सार्वजनिक ठाउँमा उपलब्ध यूएसबी चार्जिङ पोर्टको प्रयोग गर्नु भएको होला । तर यो सुविधाले तपाईंको व्यक्तिगत डेटा चोरीको जोखिम बढाउन सक्छ । अहिले साइबर संसारमा नयाँ खालको ह्याकिङ ट्रेन्ड चलिरहेको छ, जसलाई ‘जुस ज्याकिङ’ (Juice Jacking) भनिन्छ ।

खासमा के हो जुस ज्याकिङ ?

‘जुस ज्याकिङ’ एक प्रकारको साइबर हमला हो । जसमा ह्याकरहरूले सार्वजनिक चार्जिङ स्टेसनको यूएसबी पोर्टमा मालवेयर (हानिकारक सफ्टवेयर) वा विशेष हार्डवेयर जडान गरेका हुन्छन् । जब तपाईं आफ्नो फोन चार्ज गर्न त्यो पोर्टमा जोड्नुहुन्छ, उक्त मालवेयर सक्रिय हुन्छ र तपाईंको फोनबाट डेटा चोरी गर्न थाल्छ ।

यस माध्यमबाट ह्याकरहरूले तपाईंको फोनमा रहेका फोटो, भिडिओ, बैंक खाताको विवरण, सम्पर्क नम्बर र गोप्य सन्देशहरू जस्ता संवेदनशील जानकारी चोर्न सक्छन् । साथै, उनीहरूले तपाईंको फोनमा मालवेयर इन्स्टल गरिदिन वा फोनलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा (रिमोट एक्सेस) लिन पनि सक्छन् ।

कसरी बच्ने ?

यो सुन्दा डरलाग्दो लागे पनि केही सामान्य सावधानी अपनाएर यो खतराबाट सजिलै बच्न सकिन्छ:

आफ्नै पावर बैंक वा एडप्टर प्रयोग गर्नुहोस्

सार्वजनिक रूपमा उपलब्ध यूएसबी पोर्ट प्रयोग गर्नुको साटो आफ्नै पावर बैंक बोक्नुहोस् । यदि बिजुलीको सकेट (Wall Outlet) छ भने आफ्नै चार्जर एडप्टर र केबल प्रयोग गर्नुहोस् । यो सबैभन्दा सुरक्षित विकल्प हो ।

यूएसबी डेटा ब्लकरको प्रयोग गर्नुहोस् 

यो एउटा सानो एडप्टर हो, जसलाई तपाईं आफ्नो चार्जिङ केबलमा जोड्न सक्नुहुन्छ । यसले चार्जिङ केबलको डेटा पिनलाई ब्लक गरिदिन्छ, जसकारण यूएसबी पोर्टबाट चार्ज मात्र हुन्छ तर डेटा आदान-प्रदान हुन पाउँदैन । यसलाई ‘यूएसबी कन्डम’ पनि भनिन्छ । यसलाई आफ्नो चार्जिङ केबल र सार्वजनिक यूएसबी पोर्टको बीचमा जोड्दा यसले डेटा पिनहरूलाई भौतिक रूपमै ब्लक गरिदिन्छ । 

‘चार्ज ओन्ली’ केबल किन्नुहोस्

बजारमा डेटा ट्रान्सफर नहुने, केवल चार्ज मात्र गर्न मिल्ने केबलहरू पनि पाइन्छन् । यस्ता केबलमा डेटा ट्रान्सफर गर्ने तार नै हुँदैन, त्यसैले यो सुरक्षित हुन्छ । अर्कोतर्फ फोनको पप-अपमा ध्यान दिनुहोस् । आफ्नो फोन कुनै नयाँ कम्प्युटर वा यूएसबी पोर्टमा जोड्दा ‘Trust this Computer?’ वा ‘Allow data access?’ जस्ता सन्देश देखिन सक्छन् । यदि तपाईं सार्वजनिक पोर्ट प्रयोग गर्दै हुनुहुन्छ भने सधैँ ‘Deny’ वा ‘Charge Only’ अप्सन छान्नुहोस् ।

अविश्वसनीय पोर्टबाट बच्नुहोस् 

यदि कुनै चार्जिङ पोर्ट शंकास्पद देखिन्छ वा त्यसमा अनावश्यक डिभाइस जोडिएको जस्तो लाग्छ भने भुलेर पनि त्यसलाई प्रयोग नगर्नुहोस् । अर्कोतर्फ आफ्नो मोबाइलको अपरेटिङ सिस्टम र सेक्युरिटी सफ्टवेयरलाई सधैँ अपडेट राख्नुहोस् । नयाँ अपडेटहरूले यस्ता जोखिमहरूबाट बचाउन मद्दत गर्छन् ।

डिजिटल युगमा सुविधासँगै जोखिम पनि जोडिएर आउँछ । एक मिनेटको हतार वा सानो लापरवाहीले तपाईंको व्यक्तिगत र वित्तीय सुरक्षामा ठुलो असर पार्न सक्छ । त्यसैले, आइन्दा सार्वजनिक स्थानमा फोन चार्ज गर्नुपर्दा ‘जुस ज्याकिङ’ को खतरालाई सधैँ याद गर्नुहोस् । थोरै सचेतनाले तपाईंलाई ठुलो आर्थिक र मानसिक क्षतिबाट बचाउन सक्छ ।

पछिल्लो अध्यावधिक: साउन १५, २०८२ १६:५३




Leave a Reply

Your email address will not be published. Required fields are marked *