
गुगलको नोटबुकएलएममा शिक्षक-विद्यार्थीलाई अध्ययन र परीक्षामा सघाउने फ्ल्याशकार्ड र क्विज फिचर
काठमाडौँ । गुगलले आफ्नो एआईमा आधारित रिसर्च असिस्टेन्ट टुल नोटबुकएलएममा विद्यार्थी र शिक्षकहरूलाई लक्षित गर्दै नयाँ र शक्तिशाली फिचर थप गरेको छ । हालैको घोषणा अनुसार अब प्रयोगकर्ताहरूले आफ्नै अध्ययन सामग्रीबाट स्वचालित रूपमा कस्टमाइज गर्न सकिने क्विज र फ्ल्याशकार्डहरू बनाउन सक्नेछन् ।
यी नयाँ सुविधाहरूले नोटबुकएलएमलाई विद्यालय र विश्वविद्यालयको लागि एक महत्त्वपूर्ण टुलको रूपमा स्थापित गरेको छ । नोटबुकएलएमको मुख्य विशेषता भनेको यो अन्य एआई उपकरणहरूभन्दा फरक छ ।
किनकि यसले केवल प्रयोगकर्ताले अपलोड गरेको स्रोत सामग्री (जस्तै कक्षाको नोट, पीडीएफ वा पाठ्यपुस्तक) मा आधारित भएर मात्र जवाफ र सामग्री सिर्जना गर्दछ । जसले गर्दा एआईद्वारा उत्पन्न हुने गलत जानकारी (hallucinations) को जोखिमलाई उल्लेखनीय रूपमा घटाउँछ र यसलाई शैक्षिक कार्यका लागि अत्यन्त विश्वसनीय बनाउँछ ।
नोटबुकएलएमको नयाँ सुविधाको रूपमा थपिएकोको क्विज फिचरले प्रयोगकर्ताहरूलाई आफ्नो ज्ञान परीक्षण गर्न मद्दत गर्दछ । अर्थात् तपाईँ आफ्नो पाठ्यसामग्री अपलोड गरेर त्यसमा आधारित क्विजहरू बनाउन सक्नुहुन्छ ।
क्विजलाई प्रश्नहरूको सङ्ख्या र कठिनाइको स्तर अनुरूप सजिलो, मध्यम, गाह्रो गरी कस्टमाइज गर्न पनि सकिन्छ । क्विज पूरा गरेपछि प्रयोगकर्ताहरूले आफ्नो स्कोर हेर्न र प्रश्नहरूको समीक्षा गर्न सक्छन् । यदि कुनै प्रश्नको उत्तर गलत भयो भने व्याख्याका लागि एक्सप्लेन (Explain) बटन थिचेर च्याटमा विस्तृत स्पष्टीकरण प्राप्त गर्न सकिन्छ, जसले अवधारणा बुझ्न मद्दत गर्दछ ।
त्यस्तै यसमा आएको अर्को फिचर हो, फ्ल्यासकार्ड (Flashcards) । यदि तपाईँ मुख्य अवधारणाहरू, मितिहरू वा परिभाषाहरू सम्झन चाहनुहुन्छ भने फ्ल्याशकार्ड सुविधा निकै उपयोगी छ । यसले अपलोड गरिएका सामग्रीहरूबाट स्वचालित रूपमा फ्ल्याशकार्डहरू तयार गर्दछ ।
जसले गर्दा प्रयोगकर्ताहरूले आफैँ कार्डहरू बनाउन लाग्ने समय बचत गर्न सक्छन् । क्विज जस्तै फ्ल्याशकार्डको सङ्ख्या र जटिलतालाई पनि आफ्नो आवश्यकता अनुसार मिलाउन सकिन्छ ।
यस बाहेक पहिलेदेखि नै उपलब्ध स्टडी गाइड र ब्रिफिङ डक जस्ता रिपोर्टहरूमा अब थप विकल्पको रूपमा अपग्रेड गरिएका रिपोर्टहरू (Upgraded Reports) थपिएका छन् । प्रयोगकर्ताहरूले अब आफ्नै प्रम्प्टको आधारमा कस्टमाइज रिपोर्टहरू, ब्लग पोस्टहरू र अन्य फर्म्याटमा सामग्री तयार पार्न सक्छन् । नोटबुकएलएमले स्रोत सामग्रीको आधारमा रिपोर्टका लागि उपयुक्त ढाँचाहरूको सुझाव पनि दिन्छ ।
यसैगरी लर्निङ गाइड (Learning Guide) को च्याट फिचरलाई पनि सुधार गरिएको छ । जहाँ प्रयोगकर्ताहरूले कुराकानीको शैली (जस्तै विश्लेषक वा गाइड) र प्रतिक्रियाको लम्बाइ छनोट गर्न सक्छन् । यसको उद्देश्य विद्यार्थीहरूलाई गहिरो सिकाइका लागि खुला प्रश्नहरू सोधेर एक व्यक्तिगत शिक्षकको जस्तो भूमिका खेल्नु हो ।
यी नयाँ सुविधाहरूको घोषणासँगै प्रयोगकर्ताहरू उत्साहित भएका छन् र केहीले यसलाई परीक्षाको तयारीका लागि गेमचेन्जर भनेका छन् । यद्यपि यी सुविधाहरूको रोलआउटका क्रममा केही समस्याहरू पनि देखिएका छन् । केही प्रयोगकर्ता, विशेष गरी प्रो अकाउन्ट भएकाहरूले नयाँ सुविधाहरू नदेखेको वा केही दिनपछि हराएको गुनासो गरेका छन् ।
कुनै पनि एआई टुलमामा जस्तै नोटबुकएलएमको आउटपुटलाई पनि सधैँ प्रमाणित गर्न आवश्यक छ । यद्यपि यसले स्रोतमा आधारित भएर काम गर्ने हुनाले गल्तीको सम्भावना कम हुन्छ । तर पनि उद्धरण, तथ्याङ्क र मुख्य दाबीहरूलाई मूल स्रोतसँग जाँच्न जरुरी छ ।
गुगलले ओपनस्ट्याक्स जस्ता शैक्षिक प्रकाशकहरूसँग साझेदारी गरी जीवविज्ञान, रसायनशास्त्र र मनोविज्ञान जस्ता विषयहरूमा निःशुल्क सार्वजनिक नोटबुकहरू पनि उपलब्ध गराएको छ । यी नयाँ सुविधाहरूले नोटबुकलाई विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरूका लागि एक बहुमूल्य र शक्तिशाली उपकरण बनाएको छ । जसले सिकाइ र अध्ययन प्रक्रियालाई अझ प्रभावकारी र व्यक्तिगत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०८२ १२:४६