नेपाल टेलिकमले ह्वावेलाई दिन लागेको करिब ५ अर्बको बिलिङ ठेक्का पुनः रोकियो
IT

नेपाल टेलिकमले ह्वावेलाई दिन लागेको करिब ५ अर्बको बिलिङ ठेक्का पुनः रोकियो

Sep 24, 2025

काठमाडौँ । नेपाल टेलिकमले बिलिङ प्रणाली खरिद ठेक्कामा प्राविधिक रूपमा योग्य ठहरिएको चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजले प्रस्ताव गरेको मूल्य खोल्ने मिति अनिश्चितकालका लागि स्थगित गरेको छ । ​जेनजी आन्दोलनका कारण ८ असोज अर्थात् आज प्रस्तावित मूल्य खोल्ने भनिएको मिति पहिले नै सारिएको थियो । तर, टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि मूल्य खोल्ने मिति पुनः स्थगित गरेको हो ।

१५ भदौमा टेलिकमले ह्वावे मात्र प्राविधिक रूपमा योग्य ठहरिएको भन्दै ३० भदौमा मूल्य खोल्ने निर्णय गरेको थियो । तर, राजनीतिक परिस्थितिलाई कारण देखाउँदै उक्त मिति सारेर ८ असोजमा खोल्ने भनिएकोमा फेरि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बुधबार सार्वजनिक सूचनामार्फत टेलिकमले मूल्य खोल्ने प्रक्रिया पोस्टपोन्ड गरिएको जानकारी दिएको छ ।

सर्वोच्च अदालतको आदेश विपरीत टेलिकमले बिलिङ प्रणालीको ठेक्का ह्वावेलाई दिने तयारी अघि बढाइरहेको आलोचना भइरहेको छ । तर, बदलिँदो राजनीतिक परिदृश्यका कारण टेलिकम विवादास्पद ठेक्का टुंग्याउन इच्छुक देखिएको छैन ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलन हिंसात्मक बन्दै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । नयाँ सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नियुक्त भएसँगै टेलिकमले विवादित बिलिङ ठेक्का अघि बढाउन अनिच्छा देखाएको बताइएको छ ।

टेलिकमले १८ मार्च २०२५ मा आह्वान गरेको ठेक्कामा ह्वावे र ह्लेल क्लाउडले मात्र प्रस्ताव पेस गरेका थिए । यसमध्ये ह्वावेलाई मात्रै प्राविधिक रूपमा योग्य ठहर्‍याइएको छ ।

हाल टेलिकमको बिलिङ प्रणाली एसिया इन्फोले सञ्चालन गर्दै आएको छ । तर, प्रणाली पुरानो भएकाले पटक–पटक सेवा अवरुद्ध हुँदै आएको र त्यसका कारण नेपाल टेलिकम आलोचित हुँदै आएको छ ।

गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद (मर्मतसम्भारसम्बन्धी टेन्डर)मा अनियमितता भएको भन्दै तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८२ १६:२४




Leave a Reply

Your email address will not be published. Required fields are marked *