देउवा निवासमा जलेका नोटका अंशहरू भेटिएको तथा पैसाको सुरुङ रहेको हल्ला भ्रामक: निजी सचिवालय
IT

देउवा निवासमा जलेका नोटका अंशहरू भेटिएको तथा पैसाको सुरुङ रहेको हल्ला भ्रामक: निजी सचिवालय

Sep 18, 2025

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा ‘अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको र पैसाको सुरुङ रहेको’ जस्ता समाचार र दृश्यहरू भ्रामक रहेको देउवाको निजी सचिवालयले दाबी गरेको छ । बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै सचिवालयले ती सबै हल्ला निराधार र चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएको प्रतिक्रिया दिएको छ ।

२४ भदौमा आन्दोलनकारीले बूढानीलकण्ठस्थित देउवा निवास कब्जा गरी देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवामाथि भौतिक आक्रमण गरेका थिए । साथै निवासका सामान समेत लुटपाट भएका दृश्य सार्वजनिक भइरहेका छन् ।

“…त्यस्तो जघन्य आपराधिक घटनापछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरुङ्ग रहेको’ जस्ता कपोलकल्पित समाचार सम्प्रेषण भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” देउवाका स्वकीय सचिव भानु देउवाले जारी गरेको वक्तव्यमा भनिएको छ, “सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोलकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार हुन् । यस्ता बदनाम गराउने उद्देश्यले विशेष गरी सामाजिक सञ्जालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु ।”

“जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडिओहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइन्छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं ।”

देउवा निवासभित्र देखाइएको अन्डर ग्राउन्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरिएकोमा त्यो पानी ट्याङ्की रहेको पनि निजी सचिवालयले दाबी गरेको छ ।

बदनाम गराउने नियतले फैलाइएको यस्ता भ्रामक सूचनाको पछि नलाग्न सम्बन्धित सबैलाई निजी सचिवालयले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०८२ २३:१




Leave a Reply

Your email address will not be published. Required fields are marked *