IT

कुलमान घिसिङको नाममा सामाजिक सञ्जालमा दर्जनौं नक्कली अकाउन्ट, कुन हो त आधिकारिक ?

Sep 24, 2025

काठमाडौँ । ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिमिङको नाममा सामाजिक सञ्जालहरूमा नक्कली अकाउन्ट बनाउनेको बिगबिगी पाइएको छ । 

घिसिङले चलाउने सामाजिक सञ्जालबाहेक उनको तस्बिर चोरेर दर्जनौं नक्कली अकाउन्ट खडा गरिएको छ । जसमा हजारौं फलोअर देखिन्छन् । 

घिसिङको नाममा खोलिएको एउटा नक्कली फेसबुक अकाउन्टमा त १६ हजार फलोअरसँगै करिब चार हजार फ्रेन्ड्स छन् । हेर्नुस् स्क्रिनशट ।

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक रहँदा देशबाट लोडसेडिङ हटाउँदै संस्थाको वित्तीय अवस्था बलियो पारेको भन्दै चौतर्फी लोकप्रियता कमाएका घिसिङ जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा तीन ओटा मन्त्रालयको नेतृत्व गरिरहेका छन् । 

विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक रहँदादेखि नै घिसिङको नाममा नक्कली अकाउन्ट खुलेका थिए । अहिले मन्त्री बनेपछि त्यो संख्या झन् बढ्दै गइरहेको छ । जसका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताहरू नक्कली अकाउन्ट सक्कली भएको भन्दै विश्वास गरिरहेका छन् । 

फेसबुकको सर्च बारमा ‘Kulman Ghising’ हालेर ‘People’ सर्च गर्दा दर्जनौं अकाउन्ट भेटिन्छन् । तर, कुन आधिकारिक हो ठम्याउन जोकोहीलाई गाह्रो पर्छ । अधिकांश नक्कली अकाउन्ट खडा गरिएको छ ।

एक्समा पनि ‘Kulman Ghising’ हालेर सर्च गर्दा दर्जनौं नक्कली अकाउन्ट देखिन्छन् । हेर्नुस् स्क्रिनशट ।

टेकपानाले यस विषयमा घिसिङको सचिवालयसँग सम्पर्क गर्‍यो । 

घिसिङको सचिवालय सदस्य सचिन गौतमले कुलमानको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट सक्रिय रहेको जानकारी दिए । घिसिङ फेसबुक र टिकटकमा बढी सक्रिय रहेको देखिन्छ । घिसिङको इन्स्टाग्राम, एक्स, युट्युब भने सक्रिय देखिँदैनन् ।

उनको सचिवालयले उपलब्ध गराएको जानकारी अनुसार घिसिङको आधिकारिक फेसबुक अकाउन्ट र पेज छन् । यो समाचार तयार पार्दासम्म घिसिङको आधिकारिक फेसबुक अकाउन्टमा १८ हजार फलोअर्स छन् । उनले ११० अकाउन्टलाई फलो गरेको देखिन्छ । हेर्नुहोस् घिसिङको आधिकारिक फेसबुक अकाउन्टको लिङ्क र स्क्रिनशट ।

घिसिङले बेलामौकामा आफ्नो फेसबुक पेजबाट व्यक्तिगत अकाउन्टमा पोस्टहरू शेयर गर्ने गरेका छन् । यो समाचार तयार पार्दासम्म उनको फेसबुक पेजमा एक लाख ६२ हजार फलोअर छन् भने एक जनालाई पनि फलो गरेका छैनन् । हेर्नुस् घिसिङको आधिकारिक फेसबुक पेजको लिङ्क र स्क्रिनशट ।

त्यसैगरी, घिसिङको आधिकारिक टिकटक अकाउन्ट पनि छ । घिसिङको आधिकारिक टिकटक अकाउन्टको युजनेम  ‘kmghising’ छ । यो समाचार तयार पार्दासम्म घिसिङको आधिकारिक टिकटक अकाउन्टमा २६१६ फलोअर्स छन् भने एउटा अकाउन्टलाई मात्रै फलो गरेका छन् । हेर्नुस् घिसिङको आधिकारिक टिकटकको लिङ्क र स्क्रिनशट ।

त्यसैगरी, कुलमानको आधिकारिक इन्स्टाग्राम, युट्युब र एक्स अकाउन्ट भने सक्रिय छैनन् । यो सामाचार तयार पार्दासम्म उनको इन्स्टाग्राम अकाउन्टमा एउटा मात्रै पोस्ट गरिएको छ । ९९२ फलोअर्स छन् भने तीन ओटा अकाउन्टलाई घिसिङले फलो गरेको देखिन्छ । हेर्नुस् घिसिङको आधिकारिक इन्स्टाग्राम अकाउन्टको लिङ्क र स्क्रिनशट ।

 

एक्समा भने घिसिङले यो समाचार तयार पार्दासम्म २३ ओटा मात्रै पोस्ट हालेका छन् । सन् २०१९ मेमा घिसिङले एक्स अकाउन्ट खोलेको देखिन्छ । उनले ७ ओटा अकाउन्टलाई फलो गरेका छन् भने फलोअर्सको संख्या २५७१ पुगेको छ । हेर्नुस् घिसिङको एक्स अकाउन्टको लिङ्क र स्क्रिनशट ।

त्यसैगरी, घिसिङको युट्युब च्यानलमा अहिलेसम्म जम्मा एउटा मात्रै भिडिओ अपलोड भएको छ । मे २०, २०२५ मा घिसिङको आधिकारिक युट्युब च्यानल खोलिएको देखिन्छ । हेर्नुस् घिसिङको युट्युब च्यानलको लिङ्क र स्क्रिनशट ।

पछिल्लो समय समाजका ख्याति प्राप्त र सामाजिक सञ्जालमा भाइरल बनेका पात्रहरूको नक्कली अकाउन्ट बनाउने क्रम झन् तीव्र बन्दै गइरहेको छ । फेसबुकलगायतका सामाजिक सञ्जालले आफ्नो प्लेटफर्म प्रयोग गरेर पैसा कमाउन सक्ने (मनिटाइजेसन)को सुविधा दिएपछि अकाउन्ट नक्कल गर्नेको संख्या बढ्दै गइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८२ १६:५७




Leave a Reply

Your email address will not be published. Required fields are marked *