‘३० हजार दशैं बोनस’ दिने भन्दै बैंक खाता ह्याक गर्ने दाउ, जोगिन के गर्ने ?
IT

‘३० हजार दशैं बोनस’ दिने भन्दै बैंक खाता ह्याक गर्ने दाउ, जोगिन के गर्ने ?

Sep 24, 2025

काठमाडौँ । नबिल बैंकको नाम दुरुपयोग गर्दै सामाजिक सञ्जालमा ‘सर्भे फारम भरेर ३० हजार रुपैयाँ बोनस जित्नुहोस्’ भन्ने भ्रामक लिङ्कमार्फत फिशिङ आक्रमण भइरहेको पाइएको छ । दशैंको अवसर पारेर प्रयोगकर्ताको गोप्य बैंकिङ विवरण चोर्ने उद्देश्यले यस्ता लिङ्क फैलाइएपछि बैंकले आफ्ना ग्राहकहरूलाई सचेत गराएको छ । 

साइबर अपराधीले ‘Nabil Bank – बडा दशैं उपहार’ र ‘Nabil Bank बडा दशैं कार्यक्रममा सामेल हुनुहोस्, नगद पुरस्कार जित्नुहोस् र विशेष दक्षिणा’ जस्ता आकर्षक नारा लेखिएका लिङ्क भाइरल गराएका छन् । उक्त लिङ्कमा क्लिक गरेपछि प्रयोगकर्तालाई सर्भेका नाममा केही प्रश्न सोधिन्छ र अन्तमा उपहार दाबी गर्नका लागि बैंकको युजरनेम, पासवर्ड र मोबाइलमा आउने वान-टाइम पासवर्ड (ओटीपी) समेत भर्न लगाइन्छ । यी विवरण उपलब्ध गराउनासाथ प्रयोगकर्ताको बैंक खाता ह्याकरको पहुँचमा पुग्ने उच्च जोखिम रहन्छ । 

यति मात्र नभई यो प्रक्रिया पूरा गर्ने बहानामा उक्त लिङ्कलाई मेसेन्जर र ह्वाट्सएपमार्फत अन्य व्यक्तिलाई फर्वार्ड गर्न लगाइन्छ । यसले गर्दा यो ठगीको जालो तीव्र गतिमा फैलिरहेको छ ।

 

यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले एक आधिकारिक सूचना प्रकाशित गर्दै भनेको छ, “नबिल बैंकको नाम दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जाल तथा वेबसाइटमा ‘सर्भे फारम भरी ३० हजार रुपैयाँ बोनस पाइने’ भन्ने किसिमका भ्रामक र झुटा सूचना प्रचारप्रसार गरेको पाइएको छ । नबिल बैंकले यस प्रकारका कुनै पनि योजना वा बोनस प्रस्ताव नगरेको हुँदा कृपया यस्तो प्रचारमा विश्वास नगर्न हुन अनुरोध गर्दछौं ।” 

बैंकले आफ्ना ग्राहकलाई कुनै पनि आधिकारिक जानकारीका लागि बैंकको आधिकारिक वेबसाइट nabilbank.com र मोबाइल बैंकिङ पोर्टल nbankbynabil.nabilbank.com मा मात्रै हेर्न आग्रह गरेको छ ।

 

साथै यस्ता कुनै पनि शङ्कास्पद गतिविधि वा भ्रामक सूचनाबारे जानकारी दिन वा लिनका लागि बैंकको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१-५९७००१५ मा वा इमेल ठेगाना [email protected] मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८२ २०:४४




Leave a Reply

Your email address will not be published. Required fields are marked *