लाइक-फलोरको लोभमा पत्रकार अपिल त्रिपाठीको नाममा सयौं फेक अकाउन्ट, आर्थिक ठगीसम्मको प्रयास
IT

लाइक-फलोरको लोभमा पत्रकार अपिल त्रिपाठीको नाममा सयौं फेक अकाउन्ट, आर्थिक ठगीसम्मको प्रयास

Sep 22, 2025

काठमाडौँ । टेलिभिजन कार्यक्रम ‘गण्डकी छड्के’ का सञ्चालक तथा पत्रकार अपिल त्रिपाठी पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा आफ्नो पहिचानको दुरुपयोग हुँदा गम्भीर तनावमा परेका छन् । फलोअर बढाउने र भ्युज कमाउने होडमा केही प्रयोगकर्ताले उनको नाम र तस्बिर प्रयोग गरी सयौँ नक्कली अकाउन्ट खोलेर पुराना, असान्दर्भिक र तोडमोड गरिएका भिडिओ हाल्न थालेपछि उनको व्यावसायिक र व्यक्तिगत जीवनमा नै नकारात्मक असर पर्न थालेको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल क्रमश निष्क्रिय गर्ने निर्णय गरेपछि आफ्नो युट्युब च्यानल र फेसबुक अकाउन्ट पनि प्रभावित हुनसक्ने देखेर त्रिपाठी टिकटकमा प्रवेश गरेका थिए । आफ्नो आधिकारिक अकाउन्ट खोलेलगत्तै उनले एक भिडिओमार्फत यसअघि आफ्नो कुनै टिकटक अकाउन्ट नभएको स्पष्ट पार्दै आफ्नो नाममा खोलिएका नक्कली अकाउन्ट बन्द गर्न अनुरोध गरेका थिए । तर, उनको सोही आग्रहलाई दुरुपयोग गर्दै सयौँ नयाँ नक्कली अकाउन्टहरू खोलिए, जसले अहिले उनलाई साइबर अपराधको आरोपदेखि आर्थिक ठगीको प्रयाससम्म आरोपको सामना गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ ।

यी नक्कली अकाउन्टहरूले निम्त्याएको समस्याको चाङले सीमा नाघेपछि उनले आफ्नो आधिकारिक टिकटक अकाउन्टमार्फत एक भिडिओ सन्देश जारी गर्दै आफूले भोगेको पीडा र त्यसले पारेको असरबारे विस्तृत रूपमा खुलासा गरेका छन् । उनका अनुसार नक्कली अकाउन्टबाट फैलाइएका अफवाहले उनलाई प्रहरीको नजरमा समेत पुर्‍याएको छ । “मलाई एकजना प्रहरी कर्मचारीको फोन आयो र उहाँले भन्नुभयो, ‘तपाईँमाथि भ्रामक सूचना फैलाएको भनेर साइबर क्राइमको उजुरी परेको छ ।’ पछि बुझ्दा त्यो फेक आईडीबाट गरिएको रहेछ,” उनले भने ।

समस्या यतिमै सीमित छैन । नक्कली अकाउन्टहरूले उनी सिकिस्त बिरामी भएर अस्पताल भर्ना भएको जस्ता संवेदनशील अफवाहसमेत फैलाएका छन् । एक शुभचिन्तकले नक्कली अकाउन्टको पोस्ट पत्याएर उनको कार्यालयमा फोन गरी अस्पतालको बेड नम्बर सोधेको घटना सुनाउँदै उनले भने, “उहाँले ‘अपिल सरलाई हस्पिटलमा भेट्न आएको, कति नम्बर बेडमा हुनुहुन्छ ?’ भनेर सोध्नुभएछ । हाम्रा साथीहरूले उहाँ अफिसमै हुनुहुन्छ भन्दा पनि उहाँले पत्याउनुभएन ।”

सबैभन्दा डरलाग्दो पक्ष उनको नाम बेचेर आर्थिक लाभ लिने प्रयाससमेत भएको छ । “एकजना महानुभावले मलाई फोन गरेर ‘सर, त्यो पैसा लिएर कहाँ आउँ ?’ भनेर सोध्नुभयो । मैले के को पैसा भन्दा उहाँले ‘टिकटकमा म्यासेजमा कुरा भएको थियो नि’ भन्नुभयो । मेरो नाममा पैसा उठाउने धन्दा पनि सुरु भएछ,” त्रिपाठीले चिन्ता व्यक्त गरे ।

यी नक्कली अकाउन्टले उनका पुराना ‘गण्डकी छड्के’ कार्यक्रमका भिडिओ अहिलेको समयमा अपलोड गरिदिँदा उनी असान्दर्भिक र ‘फन्टुस’ जस्तो देखिन पुगेको उनको गुनासो छ । कतिपय भिडिओलाई तोडमोड गरी गलत अर्थ लाग्ने गरी प्रस्तुत गर्दा उनले आफ्नै मित्रहरूबाट समेत आलोचना खेप्नुपरेको छ ।

अब अति भएको भन्दै त्रिपाठीले नक्कली अकाउन्ट सञ्चालकलाई कडा चेतावनी दिएका छन् । “हद भयो, अति भयो । अब सकिँदैन । तपाईंहरूको दुई–चार ओटा फलोअर बढाउन वा दुई–चार पैसा कमाउनको लागि म जेल गएर त बस्न सक्दिनँ । हामीले अहिलेसम्म गरेको संघर्ष र दर्शकले हामीमाथि गर्ने विश्वासमाथि खेलबाड गर्न पाइँदैन,” उनले आक्रोश पोखे, “यो गम्भीर साइबर अपराध हो । हामीलाई अप्ठ्यारोमा पारेर आफू पनि अप्ठ्यारोमा पर्ने काम आजैबाट बन्द गर्नुहोस् ।”

उनले आफ्ना दर्शक तथा शुभचिन्तकलाई ३ लाख ५० हजारभन्दा बढी फलोअर भएको अकाउन्ट मात्र आफ्नो आधिकारिक भएको जानकारी दिँदै अन्य नक्कली अकाउन्टबाट भ्रमित नहुन आग्रह गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज ६, २०८२ १७:१६




Leave a Reply

Your email address will not be published. Required fields are marked *