पार्टीभित्रै स्त्रीद्वेषी र अश्लील कमेन्ट गर्ने नेताहरू छन्: एमाले नेतृ तिम्सिना
IT

पार्टीभित्रै स्त्रीद्वेषी र अश्लील कमेन्ट गर्ने नेताहरू छन्: एमाले नेतृ तिम्सिना

Sep 24, 2025

काठमाडौँ । एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टीभित्रै महिलामाथि स्त्रीद्वेषी र अश्लील कमेन्ट हुने गरेको बताएकी छिन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै उनले यस्ता आपत्तिजनक व्यवहार गर्नेहरू पार्टीकै जनवर्गीय संगठनका ‘राम्रै पदासिन’ नेताहरू रहेको खुलासा गरिन् ।

तिम्सिनाले लेखेकी छन्, “​स्त्रीद्वेशी , अश्लील कमेन्टहरू एमालेका जनवर्गीय संगठनका राम्रै पदासिनहरूले गर्नु भएको देखेको छु । ​तपाँईका दिदी-बहिनी, छोरी वा आफन्तहरूलाई यस्ता कुरा कसैले नलेखोस् , लेखे भने कारबाही होस् ।” 

आफ्नो पार्टी प्रवेशको औचित्यमाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिँदै तिम्सिनाले आफू कसैले गाडी किनिदिएर वा अन्य पेसामा सफल भएपछि पद-प्रतिष्ठाका लागि मात्रै राजनीतिमा नआएको स्पष्ट पारेकी छन् । “म पार्टी केन्द्रीय सदस्य कसैलाई गाडी किनीदिएर भएको होइन, अन्य पेसामा सफल भएपछि यसो पद-प्रतिष्ठा चाहिएर यता आईपुगेको पनि होइन,” उनले लेखेकी छन् ।

उनले आफ्नो भनाइसँग असहमत हुनेहरूलाई सभ्य र राजनीतिक भाषामै आफ्ना कुरा राख्न चुनौती दिँदै त्यसको एक-एक जवाफ दिन तयार रहेको बताएकी छन् । साथै, कारबाही हुनुपर्छ भन्ने लाग्नेहरूलाई पार्टी अनुशासन आयोग र संगठन विभागमा निवेदन दिन आग्रह गर्दै आफू बोलेका प्रत्येक शब्दको भागीदार हुने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

तिम्सिनाले आफू पनि एक मान्छे, कसैकी बहिनी र कसैकी दिदी भएको उल्लेख गर्दै सबैलाई आफ्नै दिदीबहिनीलाई भन्न नमिल्ने कुरा अरू कसैलाई पनि भन्न नहुने निवेदन गरेकी छन् । उनको यो पोस्टले एमालेभित्र महिलामाथि हुने व्यवहार र पार्टीका पदाधिकारीहरूको आचरणबारे गम्भीर प्रश्न उठाएको छ । यस विषयमा पार्टी नेतृत्वबाट के कस्तो प्रतिक्रिया आउँछ भन्ने चासोका साथ हेरिएको छ ।


 

पछिल्लो अध्यावधिक: असोज ८, २०८२ १३:५७




Leave a Reply

Your email address will not be published. Required fields are marked *