
संस्थागत संरचना मजबुत पार्न अर्थमन्त्रीले पदमा छँदा व्यक्तिगत सामाजिक सञ्जालमा पोस्ट नगर्ने
काठमाडौँ । अर्थमन्त्री छउन्जेल रामेश्वर खनाल आफ्ना व्यक्तिगत सामाजिक सञ्जालमा सक्रिय नहुने भएका छन् । अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री खनालको एक्स, फेसबुक र इन्स्टाग्राममा उनी पदमा छउन्जेल पोस्टहरू आउने छैनन् ।
मन्त्री खनालको आधिकारिक फेसबुक (Rameshore Khanal), एक्स (@rameshore) र इन्स्टाग्राम (@rameshore) अकाउन्ट सञ्चालनमा छन् । मन्त्रालयले यी अकाउन्ट बाहेक कुनै पनि नाम वा अकाउन्टमार्फत सम्प्रेषित हुने सूचना वा जानकारी आधिकारिक नभएको स्पष्ट पारेको छ ।
मन्त्रालयले अन्य अकाउन्टबाट सम्प्रेषित हुने सूचनाको भ्रममा नपर्न र त्यसरी गैरकानुनी काम नगर्न पनि सचेत गराएको छ । अर्थमन्त्री खनाल संस्थागत जिम्मेवारीमा रहेकाले अर्थ मन्त्रालयबाट सम्प्रेषण हुने जानकारी, सूचना मन्त्रालयकै आधिकारिक माध्यमबाट प्रकाशन गर्ने पक्षमा देखिएका छन् ।
व्यक्तिगत सामाजिक सञ्जाल अकाउन्टमा संस्थागत जानकारी प्रकाशित गर्नु उचित नहुने भएरै मन्त्री खनालकै चाहनामा उनले मन्त्री छउन्जेल व्यक्तिगत सामाजिक सञ्जालमा सक्रिय नहुने निर्णय लिएका हुन् । उनले व्यक्तिगत अकाउन्टमा भन्दा मन्त्रालयको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालहरू प्रयोग गर्दै डिजिटल सुशासन निर्माणको सन्देश दिन खोजेको देखिन्छ ।
यसअघि नियुक्त भएका प्रधानमन्त्रीदेखि मन्त्रीहरू व्यक्तिगत सामाजिक सञ्जालमा सक्रिय हुँदा आधिकारिक प्लेटफर्ममा सरकारको उपस्थिति कमजोर बनेको थियो । मन्त्री खनाल मन्त्रालयकै प्लेटफर्ममा भर परेसँगै अब अर्थ मन्त्रालयकै सम्बन्धित कर्मचारीमार्फत आधिकारिक वेबसाइट र संस्थागत सामाजिक सञ्जाल सक्रिय हुनेछन् ।
अर्थ मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी किशोर ढकालले अर्थमन्त्री खनालले गुनासो व्यवस्थापनका लागि मन्त्रालयले उनको नाममा उपलब्ध गराएको ईमेल सार्वजनिक गरिसकेको र व्यक्तिगत प्लेटफर्महरू भन्दा संस्थागत प्लेटफर्म प्रयोगलाई बढावा दिने उद्देश्यले त्यसो गरेको हुन सक्ने जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असोज ८, २०८२ १४:४०