
नेपो बेबीपछि सामाजिक सञ्जालमा सुरु भयो ‘झोले ट्रेन्ड’, दलका कार्यकर्ता निशानामा
काठमाडौँ । सामाजिक सञ्जालमा ‘झोले’ ट्रेन्ड सुरु भएको छ । राजनीतिक दलका नेताहरूसँग फोटो-भिडिओ खिच्ने व्यक्तिलाई लक्षित गर्दै फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा यस्तो ट्रेन्ड सुरु गरिएको हो ।
२३-२४ भदौमा भएको जेनजी पुस्ताको आन्दोलनअघि राजनीतिक दलका नेताहरूका सन्तानको विलासी जीवनशैलीलाई देखाएर ‘नेपो बेबी’, ‘नेपो किड्स’ सामाजिक सञ्जालमा ट्रेन्डिङ गराइएको थियो । यो अभियानले ठुला नेता र राजनीतिक दलप्रति युवा आक्रोश चुलिएको थियो ।
अहिले त्यस्तै शैलीलाई पछ्याउँदै केही सामाजिक सञ्जाल प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरले झोले ट्रेन्ड थालेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका ठुला राजनीतिक दलका नेताहरू जेनजी आन्दोलनपछि केही समय भूमिगत भएर पुन: पुरानै राजनीतिक गतिविधिमा फर्किन थालेपछि झोले ट्रेन्ड सुरु भएको देखिन्छ ।
जेनजी आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य एमाले अध्यक्ष केपी शर्मा ओलीले गुण्डुमा कार्यकर्ता भेटघाट थालेपछि त्यहाँ खिचिएका भिडिओहरू यो ट्रेन्डको आधार बनेका छन् ।
सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरहरूले यस्ता भिडिओ र र्यालीमा झण्डा बोकेर हिँड्ने कार्यकर्ताहरूको क्लिप प्रयोग गरी ‘एक्स्पोज झोले’ ह्यासट्यागसहित यो अभियानलाई विस्तार गरेका छन् ।
दलका अन्धभक्त वा चाकरी गर्ने कार्यकर्ताहरूलाई व्यंग्यात्मक रूपमा उजागर गर्ने भनिए पनि यस्तो अभियानले समाजमा नकारात्मकता फैलाउने डर उत्तिकै देखिएको छ । ट्रेन्डिङ फलो गर्ने नाममा व्यक्तिगत आक्रमण, ट्रोल र गोपनीयता हननका घटनाले सामाजिक द्वेष र हिंसा निम्त्याउने जोखिम रहने सरोकारवाला बताउँछन् । केही प्रयोगकर्ताले यो ट्रेन्डलाई गालीगलौज र फेक कन्टेन्ट फैलाउने माध्यम पनि बनाएका छन् ।
पछिल्लो अध्यावधिक: असोज ८, २०८२ १८:५२