
हर्क साम्पाङले शेयर गरेका नक्कली ‘समाचार’का कारण साइबर आक्रमणको जोखिममा उनकै समर्थक
१० लाखभन्दा बढी फलोअर भएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा सोमबार एउटा फेसबुक पेजको ‘कु’समाचार शेयर गरे । समाचारको आवरणमा त्यो भ्रम फैलाउने सूचना थियो । यसबाट फाइदा कसलाई भयो त- त्यही पेजका सञ्चालकलाई मात्र ।
मनोविज्ञानमा एउटा शब्द छ- कन्फर्मेसन बायस (Confirmation Bias)। यो हाम्रो दिमागको त्यस्तो बानी हो, जसमा हामीले पहिले नै मानेको कुरा सही हो भन्ने प्रमाण खोज्छौँ । तर उल्टो कुरा देख्दा बेवास्ता गर्छौँँ । यसमा पनि त्यस्तै भयो । यसो हेडलाइन हेर्ने बित्तिकै उनले पत्याइहाले । उनले त्यो लिङ्कमा क्लिक गर्न पनि आवश्यक ठानेनन् । हेडलाइन हेरेरै विचार बनाएर त्यस्तो विचार आफ्ना लाखौँ फलोअर्सका लागि शेयर पनि गर्न हतार गरिहाले ।
खासमा त्यो ‘स्यालुटखबर एचडी’ नामको अनलाइनको फेसबुक पेज जस्तो देखिने फर्जी पेजको कामै त्यस्तै हो । उत्तेजक र सनसनीपूर्ण हेडलाइन राखेर आफ्नो विज्ञापन नै विज्ञापन भएको पेजमा क्लिक ल्याउने र त्यसबाट पैसा कमाउने ।
यसलाई वास्तवमा ‘क्लिकबेट स्क्याम’, ‘मालिसियस रिडाइरेक्सन’ वा ‘एफिलियट फ्रड’ भन्ने गरिन्छ । साइबर सुरक्षाको भाषामा यसलाई ‘मालिसियस रिडाइरेक्ट’ वा ‘क्लिकज्याकिङ स्क्याम’ पनि भनिन्छ । यसमा प्रयोगकर्तालाई लिङ्कमा क्लिक गराउन सनसनीपूर्ण हेडलाइन र फिचर फोटोको प्रयोग गरिन्छ । तर, लिङ्कको प्रिभ्युमा देखाइएको कन्टेन्ट वेबसाइटभित्र कतै पनि हुँदैन । यस्ता लिङ्कले प्रयोगकर्तालाई पटक-पटक रिडाइरेक्ट गर्दै फरक-फरक वेबसाइटमा पुऱ्याइरहेका हुन्छन् ।
आधिकारिक तवरबाट विज्ञापन गर्न नसकिने बेटिङ साइट, मालवेयर साइट आदिले यो तरिका प्रयोग गर्छन् । र, यस्ता लिङ्कमा क्लिक गर्ने प्रयोगकर्ता बेटिङ साइट वा मालवेयर साइटमा पुग्छन् । मालवेयर साइटमा पुग्नासाथ त्यसमा मोबाइल वा कम्प्युटर सुरक्षित राख्नका लागि एप्लिकेसन डाउनलोड गर्न लगाइन्छ । त्यस्ता एप्लिकेसन डाउनलोड गर्दा डिभाइस ह्याक हुने जोखिम उच्च हुन्छ ।
मेयर साबले यति पनि ध्यान दिएनन् कि त्यसमा के लेखिएको छ ? अहिले कुनै पनि मन्त्रीको नाम ओमप्रकाश खनाल छैन । अर्याल हो । नाम त गलत छ नै, यसको काम मान्छे झुक्याउनु मात्र हो । तल लिङ्क प्रिभ्युमा पनि ‘हमन्त्री ओमप्रकाश…’ छ ।
तपाईँ पनि हर्क साम्पाङ जस्तै नझुक्किन के गर्ने त ? एरो दिएर रातो घेरा लगाइएको ठाउँमा हेर्नुस् त- के देखिन्छ ?
त्यसमा LINKURPIC.TOP लेखिएको छ । कुनै विश्वसनीय अनलाइनको समाचार भएको त्यहाँ वेबसाइटको ठेगाना हुन्थ्यो जस्तै MYSANSAR.COM
‘LINKURPIC[.]TOP भनेको यूआरएल फरवार्ड गर्ने एउटा प्लेटफर्म हो । त्यसमा क्लिक गरेपछि तपाईँलाई त्यो बनाउनेले जुन वेबसाइटमा चाह्यो त्यता पठाउन सक्छ । त्यस्तो ठाउँ जिमेल, फेसबुक अथवा कुनै बैंकको वेबसाइट जस्तो देखिने गरी बनाएको पनि हुनसक्छ । उस्तै देखिने भएर झुक्किए तपाईँले आफ्नो युजर नेम र पासवर्ड हाल्नुभयो भने तपाईँको जानकारी त्यो बनाउने कहाँ पुग्छ । त्यसैले कहाँ क्लिक गर्दैछु भनेर ध्यान दिएर मात्र क्लिक गर्नुपर्छ ।
सुरक्षाका लागि के गर्ने ?
– हेडलाइन मात्र हेरेर विश्वास नगर्नुहोस् ।
– वेबसाइटको ठेगाना (URL) ध्यान दिनुहोस् ।
– शंका लागे ‘WhereGoes’ जस्ता सेवा (https://wheregoes.com/) प्रयोग गरेर लिङ्क कहाँ लैजान्छ भनेर जाँच्न सकिन्छ ।
– यो पटक पासवर्ड चोर्ने साइट नभए पनि, अर्को पटक हुन सक्छ ।
अब एक पटक मेयरले शेयर गरेको ‘स्यालुट खबर एचडी’ नामको पेजले यस्तै झुक्याउने, सनसनीपूर्ण शीर्षक कस्ता कस्ता राख्छन्, त्यो पनि हेरौँ (फोटोहरु हेर्नुहोला)
यस्तो जनता झुक्याउने फेसबुक पेज फेरि हर्क साम्पाङको फ्यान रहेछ कि के हो । कभर फोटो नै हर्क साम्पाङको चुनावी अभियानको छ ।
रिल्स गएर हेर्ने हो भने हर्क साम्पाङ नै हर्क साम्पाङको भिडिओ देखिन्छ जसमध्ये कुनै त मिलियन भ्युज भएका पनि छन् ।
यसरी बुझ्दा-नक्कली पेजले पैसा कमाउन बनाएका सनसनीपूर्ण शीर्षकलाई हर्क साम्पाङजस्ता असली मान्छेले शेयर गर्दा अझै धेरै मानिस झुक्किन्छन् ।
तपाईँ नझुक्किनुहोस् : हेडलाइन मात्र होइन, एड्रेस र सामग्री दुवै चेक गरेर मात्र क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असोज ८, २०८२ १७:५७